एक महिनामै कोरलाबाट भित्रिए १४९८ ईभी, उठ्यो झण्डै ३ अर्ब राजस्व

काठमाडौं । मुस्ताङस्थित कोरला नाका हुँदै एक महिनामा झण्डै १५०० युनिट विद्युतीय कार (ईभी) आयात भएका छन् ।

गत भदौ ३० गतेदेखि  कात्तिक १ गतेसम्म चीनबाट कोरला नाका हुँदै १ हजार ४९८ युनिट ईभी नेपाल ल्याइएको हो । यो यस वर्ष चिनियाँ नाकाहरू मध्येबाट आयात भएको सबैभन्दा धेरै ईभी हो ।

यसअघि चीनबाट गाडी आयात गर्दै आइएका मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी बन्द हुँदा व्यवसायीले पहिलोपटक भदौ अन्तिमदेखि कोरलाबाट ईभी ल्याउन थालेका थिए ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले ३४ दिन (भदौ ३० देखि कात्तिक १  सम्म)मा कोरला नाका हुँदै १ हजार ४९८ युनिट ईभी भित्रिएको जानकारी दिए । भन्सार यार्डमा आइपुगेका सबै ईभी जाँचपास समेत भइसकेको उनले बताए ।

‘भदौ अन्तिमदेखि न्हेचुङमा भन्सार कार्यालय नियमित संचालनमा आएसँगै चीनबाट धमाधम ईभी आइरहेका छन् । १ महिनाको अवधिमा १ हजार ४९८ युनिट भित्रिए,’ उनले मेरोअटोसँग भने, ‘आएजति सबै ईभी जाँचपास भइसके । अब जाचपाँस गर्न बाँकी ईभी छैनन् ।’

कोरला नाका हुँदै बीवाइडी एटो वान, एटो टु, जेको जे फाइफ, जे सिक्स, लीपमोटर बी १०, प्रोटोन इमास सेभेन, ओमोडा ई फाइभ र डोङफेङ ईभी आयात भएका हुन् ।

त्यस्तै, एक महिनाको अवधिमा चीनबाट ४९७ वटा मालवाहक ढुवानी कन्टेनर आएको उनले बताए । व्यवसायीहरूले कोरलाबाट लत्ताकपडा, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक लगायत सामान ल्याएका हुन् ।

कोरलाबाट सामान आयात मात्र होइन निर्यात पनि सुरू भएको छ । त्यसैगरी, १ महिनाको अवधिमा नेपालबाट ७ कन्टेनर सामान चीनतर्फ निर्यात भएको उनले जानकारी दिए । ‘ईभीसँगै अन्य सामान पनि आयात भइरहेको छ । १ महिनामा चीनबाट ४९७ कन्टेनर सामान भित्रियो । नेपालबाट ७ कन्टेनर चीन पठाइयो,’ उनले भने ।

झण्डै ३ अर्ब राजस्व संकलन

ठूलो परिमाणमा ईभी र मालवस्तु आयात हुँदा उल्लेख्य मात्रमा राजस्व संकलन भएको छ । १ महिनामा २ अर्ब ८४ करोड ७७ लाख ६ हजार ५५८ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख खड्काले जानकारी दिए । नेपालबाट हस्तकलाका सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी भएको उनले बताए ।

भन्सार विभागले भदौ अन्तिम साता मुस्ताङको लोमान्थाङ गाउँपालिका-२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयमा अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडान गरी संचालनमा ल्याइएको थियो ।

त्यस्तै, चीनबाट आयात गरिएको सामानको सहज जाँचपासका लागि प्रतितपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र-२०८१ मा समावेश गरी सहजीकरण गरिएको छ । लोमान्थाङमा रहेको प्रभु बैंकबाट भन्सार राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल र सडक बगाएपछि रसुवागढी नाका ३ महिनादेखि बन्द छ । वर्षायामभरी पहिरोका कारण तातोपानी नाका पनि बन्द हुँदा व्यवसायीले विकल्पमा कोरलाबाट सवारी साधन र अन्य मालवस्तु आयात थालेका हुन् ।

रसुवागढी र तातोपानीको तुलनामा कोरलाबाट सामान ल्याउन समय र ढुवानी लागत बढी लाग्छ । तर, पानीजहाजबाट भारत हुँदै ल्याउँदाभन्दा कम लाग्ने भएकाले व्यवसायीले कोरलाबाटै ल्याउन थालेका हुन् ।

अहिले तातोपानी नाकाबाट नियमित सामान आयात भइरहेको छ भने रसुवागढी तिहारपछिबाट खुलाउने तयारी छ । रसुवागढी पुग्ने सडक खुले पनि पुल नहुँदा नाका खुल्न सकेको छैन । अहिले बेलिब्रिज जडान लगभग सकिएको छ । अप्रचो सडक निर्माण लगायत केही काम मात्रै बाँकी छ । तातोपानी नाका खुलिसकेको र रसुवागढी पनि चाँर्ड खुल्ने भएकाले अब कोरलाबाट हुने आयात भने घट्ने देखिन्छ ।


Back_to_top