काठमाडौं । करिब ६ महिनापछि रसुवागढी नाका संचालनमा आएपछि धमाधम सामान आयात हुन थालेको छ ।
ल्हेन्दे खोलामा चीनले अस्थायी बेलीब्रिज निर्माण गरी बिहीबारदेखि नाका संचालनमा ल्याएसँगै चीनबाट उपभोग्य वस्तु र विद्युतीय सवारी आयात हुन थालेको हो ।
रसुवागढी भन्सार कार्यालयका अनुसार ३ दिन (बिहीबार-शनिबार)मै ९६ कन्टेनर सामान भित्रिएको छ । केरुङबाट आएका कन्टेनर भन्सार यार्डमा राखिएका छन् । ती कन्टेनरमा ल्याइएको मालसामान जाँचपास सुरू भइसकेकाे कार्यालयले जनाएको छ ।
शनिबार एकदिनमा मात्रै ३९ वटा मालवाहक कन्टेनर सामान आएको थियो । चीनबाट स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधानका पार्टपुर्जा, ओखर, इलेक्ट्रीक ब्याट्री, मेडिकल सामग्री लगायत सामान आयात भएको हो ।
त्यस्तै, ६ महिनापछि रसुवागढी नाकाबाट विद्युतीय सवारी पनि आयात भएको छ । शनिबार रसुवागढी नाका हुँदै १८ वटा विद्युतीय माइक्रोबस भित्रिएका छन् । ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला गर्ने क्रम जारी रहेको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार यार्डमा आएका मालवस्तु धमाधम जाँचपास भइरहेको छ । बिग्रने वस्तुम पर्ने स्याउ तथा ओखरजस्ता वस्तु भने शीघ्र जाँचपास हुने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । बिहीबार र शुक्रबार दुई दिनमा ९१ लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको छ ।
रसुवागढी चीनसँगको प्रमुख व्यापारिक नाका हो । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले दुई देश जोड्ने मितेरी पुल बगाएसँगै ६ महिनादेखि उक्त नाका हुँदै नेपाल-चीन व्यापार ठप्प भएको थियो ।

