भारतमा ६ कम्पनीले बेचे ४२ लाख युनिट कार

काठमाडौं । विश्वमै तीव्र गतिमा बढ्दै गएको भारतीय कार बजारमा केबल ६ कम्पनीले ४२ लाख १४ हजार ६३४ युनिट कार बिक्री गरेका हुन् ।

भारतमा करिब दुई दर्जन ब्राण्डले आफ्ना उत्पादन बिक्री गर्दै आएका छन् । ती मध्ये ठूला ६ ब्राण्डले मात्रै ४२ लाखभन्दा बढी कार बिक्री गर्न सफल भएको देखिन्छ ।

भारतकै सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले सन् २०२५ मा १८ लाख ६ हजार ५१५ युनिट कार बिक्री गरेको तथ्यांक सार्वजनिक भएको छ ।

दोस्रो स्थानमा महिन्द्रा आइपुगेको छ । महिन्द्राले टाटा र हुन्डाईलाई पछाडि छाड्दै दोस्रो स्थान कब्जा गरेको हो । महिन्द्राले ६ लाख २५ हजार ६०३ युनिट बिक्री गरेको तथ्यांक बाहिर ल्याएको छ ।

तेस्रो स्थानमा अर्को भारतीय ब्राण्ड टाटा परेको छ । टाटाले ५ लाख ७८ हजार ७७२ युनिट कार बिक्री गरेको छ । टाटा महिन्द्राभन्दा झण्डै ४७ हजार युनिटले पछाडि परेको हो ।

विगत लामो समयदेखि दोस्रो स्थानमा रहेको हुन्डाई मोटर्स सन् २०२५ मा चौथो स्थानमा धकेलिएको छ । तर, कम्पनीले बिक्री संख्याको आधारमा सन् २०२४ कै हाराहारी गरेको देखिन्छ ।

हुन्डाईले ५ लाख ७१ हजार युनिट कार २०२५ मा बिक्री गरेको तथ्यांक बाहिर ल्याएको छ । कोरियन निर्माता हुन्डाई तेस्रो स्थानमा रहेको टाटाभन्दा ७ हजार युनिट हाराहारीले पछाडि परेको हो ।

भारतमा धेरै कार बिक्री गर्नेमा टोयोटा पाँचौं स्थानमा परेको छ । जापानी ब्राण्डले निरन्तर भारतमा बिक्री बढाउँदै लगेको छ । कम्पनीले भर्खरै सकिएको वर्षमा ३ लाख ५१ हजार युनिट कार बिक्री गर्न सफल भएको छ ।

संख्यात्मक रूपमा अर्को धेरै कार कियाले बिक्री गरेको छ । कोरियन कार निर्माता कियाले भारतमा २ लाख ८० हजार २८६ युनिट कार बेच्दै छैटौं स्थान सुरक्षीत गरेको छ ।

माथिको तथ्यांकमा कम्पनीहरूले भारतमा बिक्री गरेको संख्या मात्रै उल्लेख गरिएको छ । उनीहरूले भारतबाट गरेको निर्यात यहाँ जोडिएको छैन ।


Back_to_top