वैशाखमा मात्रै भित्रिए पौने ६ अर्बको ईभी, कति युनिट आए ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा मात्रै पौने ६ अर्ब रुपैयाँ बराबरको विद्युतीय सवारी साधन (ईभी) भित्रिएका छन् ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको वैशाखमा मात्रै ५ अर्ब ७३ करोड रुपैयाँ बराबरको विद्युतीय कार, जीप, भ्यान र माइक्रोबस आयात भएका हुन् ।

वैशाखमा ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको १ हजार ९२७ युनिट कार, जीप, भ्यान आयात भएको छ । त्यस्तै, १ अर्ब ८ करोड रुपैयाँ बराबरको ५७२ युनिट विद्युतीय माइक्रोबस आयात भएको विभागको तथ्यांक छ । वैशाखमा कार, जीप, भ्यान र माइक्रोबस गरी कुल २ हजार ४९९ युनिट ईभी आयात भएको छ ।

आगामी आव २०८२/८३ को बजेटमा विद्युतीय सवारी साधनमा कर बढ्ने हल्लाका कारण व्यापारीहरुले वैशाखमा ईभी आयात ह्वात्तै बढाएका हुन् ।

पूर्वसचिव रामेश्वर खानाल नेतृत्वको उच्चस्तरीय आर्थिक आर्थिक सुझाव आयोगले समेत ईभीमा कर बढाउन सुझाव दिएको छ । स्रोतको चापमा परेको सरकारले सोही प्रतिवेदनका सुझावको आधारमा समेत ईभीमा कर बढाउन सक्ने आकलन भइरहेको छ ।

चालु १० महिनामा कुल २९ अर्ब ७० करोड रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएका हुन् । जसमा २३ अर्ब २६ करोड रुपैयाँ बराबरको ९ हजार ८९४ युनिट कार, जी, भ्यान र ६ अर्ब ४२ करोड रुपैयाँ बराबरको २ हजार १११ युनिट माइक्रोबस रहेका छन् ।

चालु आवमा विद्युतीय कार र माइक्रोबस आयात मार्फत सरकारले १५ अर्ब ७४ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

विद्युतीय कार आयातमा चिनियाँको वर्चश्व रहेको छ । विभागका अनुसार कुल आयातको करिब ७५ प्रतिशत ईभी चीनबाट आयात भएको हो ।


Back_to_top