विद्युतीय गाडीको एलसी खुला : विक्रेतालाई हर्ष न विस्मात !

काठमाडौं । सरकारले विद्युतीय गाडी आयातको लागि खोलिने प्रतीतपत्र (एलसी) नरोक्ने भएको छ । एलसी खोल्न पाइने भएसँगै उत्साहित देखिएका अटोमोबाइल व्यवसायी सप्लाइको कुरा सम्झेपछि झस्कन्छन् ।

व्यापारीलाई झस्काउने विषय ईभीको सप्लाइ हो । ईभीको सप्लाइमा यति धेरै समस्या छ कि कुनै पनि ब्राण्डले आफूले चाहेको वा बजारमा बुकिङ लिएको संख्यामा गाडी पाउन सक्ने अवस्था छैन ।

विगत ३/४ महिनादेखि एमजीले ५ सयभन्दा धेरै ग्राहकसँग बुकिङ लिएर बसेको छ । कम्पनीले यी सबै ग्राहकको लागि यसअघि नै एलसी खोलेको थियो । तर, अहिलेसम्म सप्लाइ पाउन सकेको छैन । उल्टै १ लाख रुपैयाँ बुकिङ रकम तिरेका ग्राहकलाई पैसा फिर्ता लैजान ताकेता गरिरहेको छ ।

हिजो मात्रै एक जना विद्युतीय गाडी किन्न चाहने ग्राहकले एमजी, किया, हुन्डाई र बीवाइडीले विक्री गर्ने मध्ये कुनै पनि एउटा मोडल आफू किन्न तयार रहेको तर, गाडी पाउन नसकेको गुनासो गर्दै थिए । के त्यसो भए नेपाल राष्ट्र बैंकले चैत २१ गते बैंकका सीईओहरूलाई बोलाएर एलसी नखोल्न दिएको निर्देशनको असर बजारमा देखिएको हो त ? भन्ने प्रश्न आउन सक्छ । यो प्रश्नको उत्तर खोज्नु अघि केही कुरा बुझ्नु पर्छ ।

पहिलो, एलसी खोल्ना साथ गाडी आउने होइन । कुनै पनि आयातकर्ता कम्पनीले आफूलाई दुई वा तीन महिनाको लागि आवश्यक पर्ने गाडीको संख्या एकीन गरेर एलसी खोल्छन् । डेलिभरी हुने मिति उल्लेख गरेर एलसी खोलिने भएको कारण एलसी गएपछि उत्पादकले तालिका मिलाएर उत्पादन गर्छ । त्यसैले केही दिन एलसी खोल्न बन्द हुँदा बजारमा समस्या हुँदैन ।

सांकेतिक तस्वीर

दोस्रो, विद्युतीय गाडीमा एलसीभन्दा ठूलो समस्या विश्वव्यापी बढ्दो माग र उत्पादन क्षमता कम हुनु रहेको छ । विद्युतीय गाडी उत्पादनमा प्रयोग हुने मुख्य कम्पोनेन्ट ब्याट्री र मोटर हो । यी दुवै वस्तुको उत्पादन सीमित रहेको कारण विद्युतीय कार उत्पादन बढ्न सकेको छैन । त्यसमा पनि केही महिनाअघि सेमी कन्डक्टरको समस्या देखाउँदै विश्वभरका कार निर्माताले उत्पादन कटौती गर्नुपर्ने अवस्थाको कारण गाडीको उत्पादन माग अनुसार हुन सकेन ।

तेस्रो, यूरोपियन बजारमा कार्बन उत्सर्जन घटाउन सबै ब्राण्ड माथि दबाब दिइएको छ । विशेषतः पेट्रोल र डिजेल कार विक्री गर्ने कम्पनीलाई निश्चित परिमाणमा कार्बन उत्सर्जन घटाएर मात्रै पेट्रोलियम पदार्थबाट चल्ने गाडी विक्री गर्न दिने नीति अवलम्बन गरिएको कारण उत्पादित इलेक्ट्रीक साधन यूरोपियन बजारमा पठाउन हानथाप चलिरहेको छ । त्यसैले हाम्रो जस्तो सानो बजारमा माग अनुसार गाडी आउन सकेको छैन ।

चौथो, कम्पनीहरूले सन् २०२५ र २०३० लाई नयाँ बेन्चमार्क बनाएर काम गरिरहेका छन् । यस कारण अहिले संख्यात्मक रूपमा इलेक्ट्रीक गाडी उत्पादन गर्नुभन्दा रिसर्च एण्ड डेभलपमेन्टमा उनीहरू केन्द्रीत रहेका छन् । यी माथि उल्लेखित कारण बजार माग अनुसार ईभी उत्पादन हुन सकेको छैन ।

अबको बाटो कता ?

सरकारले तीन महिनासम्म पूर्णरूपमा आयात रोक्ने निर्णय गरेको कारण बजारमा दशैं तिहारको समयमा गाडी उपलब्ध नहुने अवस्था सृजना भएको छ । विशेषतः विदेशी मुद्रा संचिति ठीकठाक र ब्यालेन्स अफ पेमेन्टमा सुधार नआएसम्म पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयात रोक्ने निर्णय भएकाले साउन लागेपछि खुल्छ भन्ने एकीन गर्न सकिँदैन ।

पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात ठप्प भएपछि ईभी किन्ने ग्राहक झनै बढ्ने निश्चित भएपनि सप्लाइमा तत्काल सुधार आउने अवस्था छैन । भारतीय उत्पादक टाटाले केही उत्पादन बढाएर गाडी सप्लाइ दिने योजना बनाएको भएपनि तत्कालै त्यो सम्भव नहोला ।

एमजी र कियाको गाडी कहिले आउँछ भन्ने एकीन छैन । यद्यपि, बीवाइडी र हुन्डाईले केही यूनिट गाडी निरन्तर ल्याइरकेका छन् । निरन्तर भए पनि यी गाडीको संख्यात्मक आयात सन्तोषजनक छैन । त्यसैले तत्काल एलसी खोल्न पाउने विषय विद्युतीय गाडी विक्रेताको लागि ‘हर्ष न विस्मात’ भएको छ ।

 


Back_to_top