साना विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क बजेटले हटाउला ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट भोलि शनिवार सार्वजनिक गर्दैछ । सरकारले जारी गर्ने बजेट यसपटक प्राधानमन्त्री कार्यालयबाट सार्वजनिक गर्ने जानकारी अर्थमन्त्रालयले दिएको छ ।

संसद विगठन भएकोले अध्यादेशबाट सराकारले बजेट ल्याउन लागेको हो । चालु आर्थिक वर्षको बजेटले विद्युतीय सवारी साधनमा लाग्दै आएको कर वृद्धि भएसँगै जनस्तरबाट व्यापक आलोचना भएको थियो । डा. युवराज खतिवडापछि आएका अहिलेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय कारमा लगाइएको अन्तःशुल्कमा ७५ प्रतिशतसम्म छुट दिएका थिए ।

‘विद्युतीय सवारी साधनको कर के गर्ने भन्ने विषयमा छलफल भएको छ । नागरिकको गुनासो सम्बोधन गर्ने प्रयास बजेटले गर्छ’, अर्थमन्त्रालय स्रोतले भन्यो ।

अहिले विद्युतीय कारमा ४० प्रतिशत भन्सार, ६ देखि ६० प्रतिशतसम्म अन्तःशुल्क लाग्दै आएको छ । यस्तोमा अर्थमन्त्रालयले १५० किलोवाट क्षमतासम्मका सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क घटाउन सक्ने देखिएको छ । अहिले ५० किलोवाट क्षमताको मोटर भएको कारमा ६, १०० किलोवाटसम्मको कारमा १० र १५० किलोवाट क्षमताको मोटर जडान भएको कारमा १५ प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ ।

अटोमोवाइल व्यवसायीहरुको साझा संस्था नाडा अटोमोवाइल्स एसोशिएसन अफ नेपालले विद्युतीय कारमा अघिल्लो आर्थिक वर्षसम्म लाग्दै आएको १० प्रतिशत भन्सार र मूल्य अभिवृद्धि कर मात्रै लाग्ने व्यवस्था गर्न सुझाव दिएको छ ।

वातावरणीय प्रदुषणको विषयमा आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपालले कम कार्वन उत्सर्जन गरेको भएपनि यसको चपेटामा पर्नु परेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा लाने बताएका थिए ।


Back_to_top