करोड माथिका ईभी : मूल्य, पावर, रेन्जसँगै आयातमा टक्कर

काठमाडौं । विद्युतीय कारको बिक्री बढेसँगै महंगा र लग्जरी ब्राण्डका कार पनि नेपाल आउन थालेका छन् । नेपालको सडकमा विश्वका चर्चित र महंगा ब्रान्डको विद्युतीय गाडीको संख्या दिनप्रतिदिन बढ्दै गएको हो ।

विगत एक वर्षमा १ करोड रुपैयाँ माथि मूल्य भएका १२६ यूनिट विद्युतीय कार नेपाल आएका छन् । १ करोडदेखि २ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने यी विद्युतीय साधन निकै आरामदायी र फिचर लोडेड छन् ।

नेपालमा बीएमडब्ल्यू, टेस्ला, बीवाइडी, स्काइवेल, अउडी, किया, हुन्डाई जस्ता ब्राण्डका महंगा विद्युतीय गाडी बिक्री हुँदै आएका छन् ।

पछिल्लो एक वर्षमा सबैभन्दा धेरै आयोनिक-फाइभ ४३ यूनिट आयात भएको छ भने सबैभन्दा कम वीवाइडी सिल ४ यूनिट आयात भएको छ । बीवाइडी सिल नेपाल आउन थालेको ३ महिना मात्रै भएको छ ।

आयोनिक-फाइभ

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक-फाइभ सन् २०२२ मै नेपाल ल्याएको थियो । कम्पनीको ८०० भोल्ट आर्किटेक्चरमा तयार भएको कारण यसले ३५० किलोवाट क्षमतासम्मको डीसी फास्ट चार्जर सर्पोट गर्छ ।

आयोनिक-फाइभमा ५८ किलोवाट आवरको ब्याट्री र १२५ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । एक वर्षदेखि यसको मूल्य स्थिर रहेको छ । कम्पनीले यसलाई १ करोड २ लाख ९६ हजार रुपैयाँ मूल्य राखेर बिक्री गर्दै आएको छ ।

किया ईभी-सिक्स

कन्टिनेन्टल ट्रेडिङले बिक्री गर्दै आएको ईभी-सिक्स नेपाल आएको एक वर्ष भएको छैन । नेपालमा बिक्री हुँदै आएको ईभी सिक्समा ७७.४ किलोवाट अवार क्षमताको ब्याट्री प्याकमा उपलब्ध छ । जसलाई एक पटकको फुलचार्जमा ५२८ किलोमिटर गुडाउन सकिन्छ ।

अहिलेसम्म ३१ यूनिट आयात भएको ईभी-सिक्समा १६८.१ किलोवाट क्षमताको मोटर छ । यसको मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

टेस्ला मोडल थ्री

अरेट इन्टरनेसनलले बिक्री गर्दै आएको टेस्ला मोडल थ्री यो वर्ष ९ यूनिट आयात भएको छ । यसको टप स्पीड क्षमता बजारमा उपलब्ध अन्य कारको तुलनामा बढी छ । यसले २२५ किलोमिटर प्रतिघण्टाको टप स्पीड भेट्टाउन सक्छ ।

यसमा १९८ किलोवाट क्षमताको पावरफुल मोटर जडान भएको कारमा ५८ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । यसले ५.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीड लिन्छ ।

कम्पनीले गाडीको कलर अनुसार १ करोड ३० लाखदेखि र १ करोड ३५ लाखसम्ममा यसलाई बिक्री गर्दै आएको छ ।

बीएमडब्ल्यू आइएक्स-३

जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्ल्यूको सफल मोडेल आइएक्स–३ नेपालमा २ करोड ३० लाख रुपैयाँ मूल्य तोकेर बिक्री हुँदै आएको छ । नेपाल आएको पहिलो वर्षमै २१ यूनिट आइएक्स-थ्री बिक्री भएको छ ।

लक्ष्मी प्रिमियम मोटर्सले ल्याको आइएक्स-थ्रीमा ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । निकै पावरफुल २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ ।

यसमा रहेको ब्याट्रीलाई सिंगल चार्जमा ४६० किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ । उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डीसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

बीवाइडी सिल

नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाइडीको सिल ३ भेरियन्ट बिक्री सुरू गरेको छ । कम्पनीले मोटर र ब्याट्री साइज अनुसार अलग मोडल बनाएको हो ।

कम्पनीले १ करोड ५ लाखदेखि १ करोड ८५ लाख रुपैयाँसम्म मूल्य निर्धारण गरेको छ । सिलको योे भेरियन्टमा ६१.४४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाटको मोटर जडान गरिएको छ । यसले ४६० किलोमिटरको रेन्ज दिने डब्ल्यूएलटीपीले प्रमाणित गरेको छ ।

त्यस्तै, सिलको मिड र हाई रेन्जमा ८२.५६ किलोवाट आवरको ब्याट्री र २ सय ३० किलोवाटको मोटर छ । डब्ल्यूएलटीपीको रिपोर्ट अनुसार मिड भेरियन्टले ५ सय ७० र हाई भेरियन्टले ५२० किलोमिटर रेन्ज दिन्छ ।

स्काइवेल ईटी फाइभ

केही दिनअघि मात्रै नेपाल आएको स्काइवेल ईटी फाइभ मोडल जी मोटर्सले नेपाल ल्याएको हो । यो गाडी सिंगल चार्जमा ६२० किलोमिटर गुड्न सक्छ । यसमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ ।

कम्पनीले यसमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर दिएको छ । साथै, इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ र इन्टेलिजेन्ट सेक्यूरिटी लगायतका सुविधा यसमा छन् ।
यसको मूल्य १ करोड ९ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

अउडी ‘ई-ट्रोन ३५’ र ‘ई-ट्रोन ३५ स्पोर्टब्याक’

नेपालका लागि आधिकारिक वितरक काइरोस इन्टरनेसनलले जर्मन विलासी कार अउडीको ई-ट्रोन ३५’ र ‘ई-ट्रोन ३५ स्पोर्टब्याक’ गरी दुई भेरियन्टमा नेपाल ल्याएको छ ।

यी दुवै मोडलमा ५५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक छ । यसमा १२५ किलोवाटको मोटर छ । सिंगल चार्जमा ३४९ किलोमिटर रेन्ज दिने यो एसयूभी अहिलेसम्म ९ यूनिट आयात भएको छ ।

अउडी ई-ट्रोन ३५ को नेपाली बजारमा मूल्य १ करोड ४५ लाख ३३ हजार र औडी क्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख ७३ हजार तोकिएको छ ।


Back_to_top