काठमाडौं । भारतीय बजारमा कार बिक्री केही सुस्त देखिएको छ । सन् २०२४ मार्चको तुलनामा अप्रिलमा कारको बिक्री घटेको हो ।
गत मार्च महिनामा ३ लाख ६९ हजार ३८१ यूनिट कार बिक्री भएको भारतीय बजारमा अप्रिलमा घटेर ३ लाख ३७ हजार ०७० यूनिट मात्रै बिक्री भएको हो । समग्रमा ८.७ प्रतिशतले बिक्रीमा कमी आएको देखिन्छ ।
भारतमा कार उत्पादन गर्ने १४ ब्राण्ड मध्ये मार्चको तुलनामा अप्रिलमा बिक्री बढाउने महिन्द्रा एक मात्रै ब्राण्ड बनेको छ । अन्य सबै १३ कम्पनीको बिक्रीमा गिरावट आएको हो ।
सबैभन्दा धेरै बिक्री घट्नेमा सिट्रोन, होन्डा र टोयोटा छन् । सिट्रोनले झण्डै ६० प्रतिशतले बिक्री गुमाउँदा होन्डाले ३८.५ र टोयोटाले २५.६ प्रतिशतले बिक्री गुमाएका हुन् ।
अप्रिल महिनामा सबैभन्दा धेरै १ लाख ३७ हजार ९५२ यूनिटसहित मारुती सुजुकी अग्रस्थानमा रहँदा दोस्रो स्थानमा हुन्डाई रहेको छ । उसले ५० हजार २०१ यूनिट कार बिक्री गरेको हो ।
तेस्रो स्थानमा टाटा मोटर्स छ । उसले ४७ हजार ८८५ यूनिट कार बिक्री गरेको हो । चौथो स्थानमा रहेको महिन्द्राले ४१ हजार ८ यूनिट बिक्री गर्न सफल भएको छ ।
सूचीको पाँचौ स्थानमा किया पर्न सफल भएको छ । कियाले १९ हजार ९६८ यूनिट कार बिक्री गरेको छ । टोयोटाले १८ हजार ७०० यूनिट कार बिक्री गर्दा एमजीले ४ हजार ४८५ यूनिट कार बिक्री गरेको हो ।
अन्य ब्राण्डमा होन्डाले ४ हजार ३५१, रेनोले ३ हजार ७०७, फक्सवागेनले ३ हजार ४९, स्कोडाले २ हजार ५७९, निसानले २ हजार ४०४, सिट्रोनले ४०४ र जीपले ३७७ यूनिट कार बिक्री गरेका हुन् ।

