आइतबार सार्वजनिक हुँदै जेडएस इभी, कति पर्ला मूल्य ?

काठमाडौं । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले एमजीको सर्वाधिक सफल इलेक्ट्रीक मोडल जेडएसको फेसलिफ्ट मोडल आइतबार सार्वजनिक गर्ने भएको छ । कम्पनीले काठमाडौंमा आइतबार एक कार्यक्रम आयोजनागरी फेसलिफ्ट जेडएस इभी सार्वजनिकसँगै बुकिङ खुल्ला गर्न लागेको हो ।

एमजीले नयाँ जेडएसमा ब्याट्रीमा व्यापक परिवर्तन गरेको छ । यसअघि ४४.५ किलोवाट आवरको ब्याट्री प्रयोग भएको जेडएसमा अब ५१.१ किलोवाट आवर र ७२.६ किलोवाट आवरको दुई ब्याट्री अप्सन उपलब्ध हुनेछ ।

ब्याट्री अप्सन नै फरक हुने भएसँगै एमजीले दुबै भेरियन्टको मूल्य पनि फरक पार्नेछ । करिब २० किलोवाट आवर क्षमताको ब्याट्री फरक भएको कारण अनुमानित ८ देखि १० लाख रुपैयाँ फरक पर्नेछ । कम्पनीले यसको कुनै पनि भेरियन्टको मूल्य कति पर्छ भन्ने खुलाएको छैन ।

एमजीको जेडएस इभी नेपालमा सर्वाधिक विक्री भएको विद्युतीय गाडी हो । नयाँ आउन लागेको जेडएस इभी फेसलिफ्टमा अगाडिको फेसिकादेखि अलोय ह्वीलसम्म व्यापक परिवर्तन गरिएको छ । साथै, कम्पनीले यसको ड्यासवोर्डमा पनि परिमार्जन गरेको छ ।

रिडिजाइन बम्पर, नयाँ हेडल्याम्प र टेलल्याम्प, बडी कलरको फ्रन्ट ग्रिल, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, आई–स्मार्ट कनेक्ट कार टेक्नोलोजी जस्ता फिचर यसमा दिइएको छ ।

यसमा दिइएको ५१ किलोवाट आवर क्षमताको व्याट्रीले सिंगल चार्जमा ४ सय किलोमिटर र ७२ किलोवाट आवर क्षमताको व्याट्रीले सिंगल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने बताइएको छ । तर, डब्लूएलटीपीको सडक परिक्षणमा यसको सानो ब्याट्रीले ३१९ र ठूलो ब्याट्रीले ४४० किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ ।


Back_to_top