काठमाडौं । काठमाडौं–तराई जोड्ने द्रुत मार्ग फाष्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) स्वीकृत गनरि काम अघि बढाउन संसदको विकास समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।
सोमबार बसकेको समितिको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई यस्तो निर्देशन दिएको थियो । गत चैत पहिलो साता रक्षामन्त्रालय मार्फत मन्त्रिपरिषद् पुगेको डीपीआर स्वीकृत नहुँदा द्रुतमार्ग निर्माणको काम रोकिएको हो । त्यस्तै द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।
नयाँ विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार यो सडकको लागत ६३ अर्ब बढी लागत पर्ने देखिएको हो । यसअघिको डीपीआरमा द्रुत मार्गको लागत १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । नयाँ डीपीआर अनुसार द्रुत मार्गको लागत १ खर्ब ७५ अर्ब पुगेको छ भने दुरी करिव ४ किमी घटेको छ ।
यसअघि ७६ किमी अनुमान गरिएको आयोजना सुरुङमार्गको संख्या बढेपछि दूरी करिव चार किमी घटेको हो । सुरुको डीपीआरमा एउटा मात्रै सुरुङमार्ग थियो । नयाँ डीपीआर अनुसार तीनवटा सुरुङमार्ग हुने भएका छन् ।
त्यसै गरि डिपिआरमा प्रस्थान विन्दु खोकनालाई मानिएको छ । अन्तिम विन्दु (७२.५ किमी) निजगढलाई मानिएको छ । पुलको संख्या ८७ वटा (१०.९५६ किमी ) रहेको छ । विशेष प्रकृतिका पुलहरु १६ वटा र अन्य पुल ७१ वटा छन् । चारलेनमा बन्ने द्रुत मार्गको चौडाई २५ मिटर हुनेछ ।


