९० मिनेटको उडान पश्चात् एक यात्रु घण्टौंसम्म जहाजमै छुटे पछि एयर क्यानडाको चौतर्फी आलोचना हुन थालेको छ । क्युबेकबाट टोरन्टो आएको उक्त जहाजमा टेफनी एडम्स नाम गरेकी २ बच्चाकी आमा थुनिएकी हुन् । अन्य यात्रु तथा कर्मचारीहरु झर्ने बेला उनि प्लेनमै भुसुक्क निदाएको कारण उनी थुनिएकी हुन् ।
एडम्सले जहाज उडानको क्रममा पनि खाली–खाली रहेको र निदाएर उठ्दा त नजिकैको टर्मिनलमा पार्क गरिराखेको अन्धकार र सुनसान जहाजमा आफुलाई एक्लै पाएको भनेर एयरलाइन्सको फेसबुक पेजमा लेखेकी छन् ।
ब्याकुलता (एन्जाइटी) र अनिन्द्राको समस्याबाट पिडित एडम्सले जहाजमा थुनिदाको अनुभव ‘दर्दनाक’ भएको बताएकी छिन् । कसैलाई फोन गनएपनि फोनमा ब्याट्री नभएको उनले उल्लेख गरेकी छिन् । जहाज भित्रै उनलाई ‘प्यानिक अट्याक’ भएको थियो ।
‘मलाई लाग्यो कि म कुनै खराब सपना देखिरहेको छु’ एडम्स अन्धकार क्याबिनमा थुनिदाँको अनुभव लेख्छिन् ।
‘मैले आफ्नो श्वास प्रश्वासलाई सन्तुलित राख्दै फोन चार्ज गर्ने पोर्ट खोज्न थालें । तर, दुभाग्यवश जहाजमा बिजुली थिएन’, उनले लेखेकी छिन् ।
घर जाने ब्यग्रतामा उनी यताउता गर्न थालिन् । र, मानिसहरुलाई बाहिर खबर पुर्याउने उपाय खोज्न जहाजको ककपिट तिर भौतारिन थालिन् । अन्तमा उनले जहाजको मुख्य ढोका खोल्ने उपाय फेला पारिन् र ढोका खोल्न सफल पनि भइन् । तर, जमिन ४० फिट तल थियो र कुनै भर्याङ उपलब्ध थिएन ।
‘मैले ढोकामा झुण्डिएर बाहिरका मानिसहरुको ध्यान खिच्न धेरै प्रयास गरें । कतै टाढा बत्ति बलिरहेको देख्थें म’, उनी लेख्छिन् ।
त्यसपछि उनले तल झर्नका लागि डोरी पनि खोजिन् । ढोकासँगै रहेको परिचारिकाको सिटमा बेल्ट थियो । तर, त्यो सिट बेल्ट भुँईंसम्म झर्न पुग्ने लामो थिएन ।
घण्टौंसम्म उनलाई कतिबेर यसरी बस्नुपर्ने भन्ने थाहा थिएन । ढोकाबाट खुट्टा झरेर टर्चलाइट यताउता घुमाएर बसिरहिन् ।
केही घण्टा पछि अचानक ‘लगेज कार्ट’ चलाउने मानिसको आखाँ उनको टर्चमा पर्यो र उनी जहाज तर्फ आए ।
उनले नै भर्याङको ब्यवस्था गरे । र, अन्तत एडम्स जहाजबाट उत्रन सफल भइन् ।
त्यसपछि टर्मिनलमा रहेका एयर क्यानडाका कर्मचारीले उनलाई लेमोजिनमा घर वा होटेलसम्म छाडिदिने प्रस्ताव राखे ।
एयर क्यानडाले अहिलेसम्म उनलाई २ पटक फोन गरेर माफि मागिसकेको छ । र, कसरी त्यस्तो गम्भिर त्रुटी भयो भनेर अनुसन्धान गर्ने बताएको छ ।
‘अहिले पनि म राम्रोसँग निदाउन सकेको छैन । बारम्बार त्यो अन्धकार र सुनसान जहाज भित्रको अनुभवले सताइरहन्छ’, एडम्स बताउँछिन् ।

