काठमाडौंं । कोरियन कम्पनी सुसाङ इन्जिनियरिङ्गले काठमाडौं निजगढ द्रुतमार्गको डीपीआर माघ २० गतेभित्रमा तयार पर्ने अन्तिम तयारी गरिरहेको छ । बहुप्रतिक्षित काठमाडौं–तराई (निजगढ) द्रूतमार्ग निर्माणकार्य विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) बिना नै अघि बढिरहेको छ । बिना डिजाइनमा काम भैरहँदा त्रुटी देखिन सक्ने भन्दै सरोकारवाला निकायहरू सशंकित भैरहेको समयमा नेपाली सेनाले बिना डीपीआर नै द्रूतमार्गको काम गरिरहेको हो ।
डीपीआर बिना नै काम गरिरहेको सेनाले द्रूतमार्ग निर्माणको काम योजनाअनुसार नै अघि बढिरहेको दावी गरेको छ । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवम् सेनाका प्रवक्ता गोकुल भण्डारीले सेनाले विस्तृत डीपीआर अहिले प्रक्रियामा रहेको मेरोअटोलाइ जानकारी दिए ।
वक्ता भण्डारीले एडीबीले सन् २००८ मा तयार पारेको सम्भाव्यता अध्ययनअनुसार अहिले विभिन्न स्थानमा रेखाङ्कन तथा माटो काट्ने र भर्ने काम भैरहेको बताए ।
सम्भाव्यता अध्ययनकै आधारमा डिजाइन तयार गरिने हुँदा अहिले भैरहेको कामबाट डीपीआर डिजाइनमा समस्या ननिस्कने उनले दावी गरे । त्यस्तै, उनले अधिकांश ठाउँमा जग्गा अधिग्रहणको काम सकिइसकेको भन्दै पछि डिजाइन प्रभावित नहुने जानकारी दिए ।
आर्थिकरुपमा मुलुकको महत्वपूर्ण सडक सञ्जालको रुपमा द्रूतमार्गलाई लिइएको छ । काठमाडौं र तराईको दूरी ७६ किलोमिटर छोटो हुने गरी निर्माण भैरहेको यो सडकले राष्ट्रिय महत्वको रुपमा स्थान पाएको छ ।
सबै क्षेत्रमा काम गर्नका लागि सेनाले करिब एक हजार दक्ष जनशक्ति खटाएको छ ।
सेनाले २८ स्वदेशी ठेकेदार कम्पनीहरूमार्फत् अहिले द्रूतमार्गको निर्माण गरिरहेको छ । ती ठेकेदार कम्पनीहरूले कामलाई खण्ड–खण्डमा विभाजन गरी गरिरहेका छन् । निर्देशक भण्डारीकाअनुसार, २८ कम्पनीमध्ये २० ठेकेदार कम्पनीले अहिले रुखहरू काट्ने, पहाड फोर्ने तथा अन्य कामहरू गरिरहेका छन् । त्यस्तै, ३ कम्पनीले सुरुङ्गका लागि काम गरिरहेका छन् भने बाँकी पाँच कम्पनीहरू बुङ्ग्मती–खोकनालगायतका स्थानहरूमा कामका लागि कुरेर बसिरहेका छन् ।
के–के काम भैरहेको छ ?
द्रूतमार्ग निर्माणका लागि अहिले धमाधम काम भैरहेको सेनाले जनाएको छ । सबै क्षेत्रमा काम गर्नका लागि सेनाले करिब एक हजार दक्ष जनशक्ति खटाएको छ । द्रूतमार्गका लागि अहिले करिब २० हजार रुख कटानी भैसकेको छ । उक्त संख्याको रुख कटानी, गर्नुपर्ने कटानको ९६ प्रतिशत काम हो । बाँकी काम पनि छिट्टै सकिने प्रबक्ता भण्डारीले बताए ।
त्यस्तै, विभिन्न खण्डमा गरी अहिले ५४ किलोमिटरको सडकमा सव–ग्रेडिङ्ग मिलाउने काम भैरहेको सैनिक निर्देशनालयले बताएको छ । त्यस्तै, १० स्थानमा सैनिक क्याम्प निर्माण भैरहेको छ । जसमा ८ वटा क्याम पूर्णरुपमा सम्पन्न भैसकेको छ । भने, खोकनामा बनाइने क्याम्पको लागि सेनाले बोलपत्र आह्वान गरिसकेको छ ।
विवादका कारण खोकनामा काम गर्न ढिलाई
खोकना र बुङ्ग्मती क्षेत्रका बासिन्दाको अवरोधका कारण यो क्षेत्रमा काम सुरु नै हुनसकेको छैन । सबै गरी यो क्षेत्रमा ९५ प्रतिशत जग्गा अधिग्रहणको काम भएको छ । खोकनामा मुआब्जा रकम कम भएको भन्दै स्थानीय बासिन्दाले काम गर्न नदिएका हुुन् । सरकार र स्थानीयबीचमा यो विषयमा वार्ता हुँदैआएको छ, तर सहमति कहिले हुने भन्नेचाहिँ टुङ्गो छैन ।
यसरी सुरुङ्ग मार्ग बनाउन चार अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको प्रवक्ता भण्डारी बताउँछन् ।
प्रवक्ता भण्डारी भन्छन्, सरकार र स्थानीयबीच छिट्टै सहमति हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ र विवाद टुङ्गिनेबित्तिकै हामी कामलाई दैूतगतिमा अघि बढाउँछौँ ।
३ वटा सुरुङ्ग मार्ग
सेनाले भूकम्पीय जोखिम कम गर्न भन्दै द्रूतमार्गमा ३ वटा सुरुङ्ग निर्माण गर्न प्रस्ताव गरेको छ । सेनाले प्रस्ताव गरेको नयाँ सुरुङ्ग मार्गको लम्बाई ६.०७ किलोमिटर हुनेछ । नयाँ सुरुङ्ग मार्ग महादेवडाँडामा (छोक्रेडाँडादेखि महादेव खोल्सी) ३.३०० किमि, धेन्द्रेमा (सिमपानीबेसीदेखि चालिसेखोल्सी) सम्म १.३७० किमि र लेनडाँडामा (घट्टेपाखादेखि बादरेखोल्सी) सम्म १.४ किमिका हुनेछन् । सुरुङ्ग मार्ग ९.५ मिटर चौडाई र ५.५ मिटर अग्लो हुनेछ ।
द्रूतमार्गमा सेनाले ९९ वटा पुलमार्ग निर्माण गर्नेछ । जसका लागि ६ वटा ठेकेदार कम्पनी छनौट भैसकेको सेनाले जनाएको छ । पाँच चिनीयाँ र एक टर्किस कम्पनी प्रारम्भिक चरणमा छनोट भएका छन् ।
यसरी सुरुङ्ग मार्ग बनाउन चार अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको प्रवक्ता भण्डारी बताउँछन् । उनकाअनुसार, यी सुरुङ्ग मार्गहरू नेपालमा अहिलेसम्मकै आधुनिक किसिमको हुनेछन् ।
९९ वटा पुल
द्रूतमार्गमा सेनाले ९९ वटा पुलमार्ग निर्माण गर्नेछ । जसका लागि ६ वटा ठेकेदार कम्पनी छनौट भैसकेको सेनाले जनाएको छ । पाँच चिनीयाँ र एक टर्किस कम्पनी प्रारम्भिक चरणमा छनोट भएका छन् । चिनीयाँ कम्पनीमा स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेसन, हुनान रोड एन्ड ब्रिज कन्स्ट्रक्सन ग्रुप कम्पनी, चाइना रेल्वे–२० ब्यूरो ग्रुप कर्पाेरेसन रहेको भन्डारीले जानकारी दिए ।
यस्तै, चाइना ओभरसिज इन्जिनियरिङ्ग ग्रुप र चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ्ग कम्पनीको जोइन्ट भेन्चर, लोङ्जियान रोड एन्ड ब्रिज कम्पनी छनोटमा परेका छन् ।
टर्किस कम्पनीमा डोगुस इन्साट भे–टिकारेट एएस एन्ड माक्योल इन्साट सनायी टुरिजम भे–टिकारेटको जोइन्ट भेन्चर छनौट भएको छ । सबै प्रक्रिया तय भैसके पनि पुल निर्माणको काम भने अझै सुरु भएको छैन ।
‘आवश्यकताअनुसार, हामीहरूले पुल निर्माण गर्छौं, यही मितिमा सुरु गछौँ भन्ने कुरा हुँदैन,’ भण्डारीले भने ।
लागत कति ?
काठमाडौंबाट निजगढसम्मको ७६ दशमलव २ किलोमिटरको यो मार्ग निर्माणपछि निजगढबाट पथलैयासम्मको १८ किलोमिटर सडकसमेत स्तरोन्नति गरेर चार–लेनको बनाउनुपर्ने हुन्छ ।
यो मार्ग निर्माणपछि काठमाडौंबाट निजगढ एक घन्टामै पुग्न सकिनेछ । राष्ट्रिय गौरवको यो आयोजनाको अनुमानित लागत एक खर्ब १२ अर्ब रुपैयाँ छ । यो लागत भारतीय कम्पनीले तयार पारेको डीपीआरका आधारमा तय भएको हो । सेनाले तयार पार्ने डीपीआरपछि रकम घटबढ हुनसक्ने प्रवक्ता भण्डारी बताउँछन् ।

