काठमाडौं । नेपाली बजारमा पनि राम्रै संख्यामा उपलब्ध फियाट पुन्टो सन् २००९ मा पहिलो पटक बजारमा आएको थियो । करिब ९ वर्ष बजारमा सफल मोडलको रुपमा चिनिएको पुन्टो २०१८ बाट उत्पादन बन्द भएको हो ।
युरोपियन ब्राण्ड फियाटले पुन्टो उत्पादन बन्द गरेको ७ वर्षपछि इलेक्ट्रीकमा आउने विषयले चर्चा पाएको छ । फियाटका सीईओ ओलीभर फ्रान्कोइसले एक अन्तर्वार्तामा पुन्टो स्लीक र स्पोर्टी अबतारमा आउने बताए ।
फ्रान्कोइसले ह्याचव्याक इलेक्ट्रीक कारको बजार वृद्धि भएका कम्पनीको उक्त निर्णय सहि सावित हुने बताए । उनले त्यसको लागि भारतीय बजार हेरिरहेको जानकारी दिए ।
‘भारतीय बजारमा इलेक्ट्रीक ह्याचव्याकको माग बढेमा फियाट पुन्टोको सम्भावना हुनेछ । अहिले एसयूभी वा सेडान मात्र ईभीमा रुचाइएको देखिन्छ’, फ्रान्कोइसले भने ।
विश्वभर नै अहिले ईभीको रुपमा एसयूभी, क्रसओभर र सेडान गाडीको मात्रै चर्चा भइरहेको छ । सबैभन्दा धेरै बिक्ने मोडलमा टेस्ला मोडल ३, बीवाइडी क्वीन प्लस जस्ता सेडान र टेस्ला मोडल वाई, बीवाइडी सोङ, फोर्ड मस्टाङ म्याक ई, हुन्डाई आयोनिक ५ जस्ता एसयूभी हुन् । युरोपियन बजारमा समेत फक्वागेनको आईडी ३ ले मात्रै बजार लिन सकेको छ ।
फियाटले पुन्टो इलेक्ट्रीकका लागि ‘एसटीएलए स्मल आर्किटेक्चर’ प्रयोग गर्ने सम्भावना रहेको छ । उक्त प्लेटफर्ममा प्यूजो २०८, ओपेल कोर्सा र लान्सीया वाइपसिलोन जस्ता मोडलहरु बनेका छन् ।

