काठमाडौं । सन् २०२५ लागेसँगै नेपाली ईभी बजारमा निकै ठूलो हलचल पैदा भएको छ । पहिलेदेखि नै ईभी बिक्री गर्ने कम्पनीहरू, नयाँ ब्राण्डको बढ्दो उपस्थिति र बजारमा जरा गाडेर बसेका ब्राण्डहरूले विद्युतीय साधन नेपाल ल्याउने भएसँगै ग्राहकलाई छनोट बढ्ने भएको हो ।
उपभोक्तालाई छनोट बढ्दा बिक्रीहरूमा भने हलचल पैदा भएको छ । बढ्दो प्रतिस्पर्धासँगै बजार हिस्सा जोगाउने, बढाउने र टिक्नको लागि संघर्ष गर्न कम्पनीहरू बीच दौडधूप सुरू भएको छ ।
सन् २०२४ मा नयाँ ब्राण्डको बढी नै आयो । सन् २०२५ मा नयाँ ब्राण्डभन्दा नयाँ मोडलको बाढी आउने देखिँदैछ । त्यसैले वर्षको सुरूआतदेखि नै तीव्र प्रतिस्पर्धा सुरू भएको देख्न सकिन्छ ।
विश्व बजारमा जस्तै नेपालमा पनि एउटा मोडलको औसत आयु ३ वर्ष हाराहारी देखिएको छ । यस्तोमा हरेक वर्ष नयाँ मोडल ल्याएर बजारमा आफूलाई बलियोसँग स्थापित गर्ने दौडमा कम्पनीहरू देखिएका छन् ।
ईभी बजारको उदयसँगै प्यासेन्जर कार सेग्मेन्टमा बलियो देखिएको टाटाले फेब्रुअरीको सुरूआतमै नेक्सन के-थ्री मोडल बिक्री थाल्यो । अब उसले कर्भ ईभी बिक्री थाल्दैछ । यी दुई मोडलको सहायताले सिप्रदी ईभीमा थप बलियो बन्दैछ ।
नयाँ गाडी किन्ने र ईभी चढिरहेका मानिसको चासो भने कम्पनीहरूले बनाउने चार्जिङ नेटवर्क, सर्भिस, पार्टस् र बिक्रीपछिका सेवामा देखिन्छ ।
ईभी बजारलाई गति दिएर सुस्ताएको हुन्डाई क्रेटा ईभीमार्फत दौडन चाहन्छ । त्यसैले लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मार्चको पहिलो साताबाट क्रेटा ईभी बिक्री थाल्दैछ ।
एमजीले जेडएस ईभीको बदलामा ल्याउन लागेको एस-५ पनि आगामी साताबाट विभिन्न गतिविधि थाल्दैछ । पारामाउन्ट मोटर्सले मार्च पहिलो साताबाट एस-५ बिक्री गर्नेछ ।
प्रोटोनले हिजो मात्रै इमास-७ ईभी देखायो । कम्पनीले आगामी मार्च २१ बाट इमास-७ को बिक्री थाल्नेछ । यसका अलावा बीवाइडी एटो-२, दीपल एस-०५ पनि चाँडै बिक्री सुरू हुने मोडल हुन् ।
माथि चर्चा गरिएका चल्तीका ब्राण्डका योजना हुन् । योजना नै नबनाएका तर, गाडी ल्याएर बिक्रीको लागि राखेका धेरै ब्राण्ड टिक्ने योजना बुन्न तल्लिन छन् ।
उपभोक्ताको चासो सर्भिस र चार्जिङ पूर्वाधारमा
ईभी बिक्रेताको चासो पनि गाडीसँगै इको सिस्टम निर्माण गर्नेमै देखिन्छ । तर, सीमित स्रोत र साधनको कारण एकैपटक धेरै पूर्वाधार निर्माण सम्भवको विषय रहेन ।
तर, नयाँ गाडी किन्ने र ईभी चढिरहेका मानिसको चासो भने कम्पनीहरूले बनाउने चार्जिङ नेटवर्क, सर्भिस, पार्टस् र बिक्रीपछिका सेवामा देखिन्छ ।
‘हामीसँग धेरै मानिसले सर्भिस महँगो भयो, चार्जिङमा पनि निजी क्षेत्रका चार्जर संचालकले मनलाग्दी तरिकाले प्रतियुनिट बिजुलीको पैसा लिए । पार्टस्को लागत किन यति धेरै महँगो भनेर जिज्ञासा राख्ने गरेका छन्,’ इलेक्ट्रीक भेहिकल ग्रुपका को-फाउन्डर कुशल राजभण्डारीले मेरोअटोसँग भने, ‘नयाँ गाडीको हल्लाखल्ला गर्न आफ्ना मानिस लगाउँछन् । तर, जटिल प्रश्नका उत्तर दिन कुनै पनि कम्पनीका प्रतिनिधि उपलब्ध हुँदैनन् ।’
बजारमा २५ हजार युनिट माथि इलेक्ट्रीक कारको संख्या पुगे पनि डीसी फास्ट चार्जिङको संख्या त्यही गतिमा बढ्न सकेको छैन ।

