काठमाडौं । फिफा विश्वकप २०२६ सुरुवाती चरणमा छ । पहिलो पटक विश्वका ४८ देशले सहभागिता जनाएको विश्वकपमा चल्तीका ठूला ब्राण्डहरु प्रयोजक भएका छन् ।
चिनियाँ अटोमोबाइल ब्राण्ड चांगान पोर्चुगल टिमसँग जोडिएको छ । क्रिस्टियानो रोनाल्डोको प्रेरणामा रहेको पोर्चुगीज टीमसँग गत मे महिनामा चांगान जोडिएको थियो ।
चांगनले पोर्चुगल राष्ट्रिय टीमले गर्ने हरेक गोलमा दिपलको कार निःशुल्क दिने घोषणा गरेको छ । युरोपियन बजारमा आफ्नो प्रभाव बिस्तार गर्न चांगनले ठूलो लगानी गर्दैछ । फुटबल विश्वकप कै लागि कम्पनीले अनौठो स्कीम दिएको हो । यो स्कीम भने युरोपमा नभइ चीनमा लागु हुनेछ ।
पोर्चुगलले गर्ने हरेक गोलमा एउटा कार पुरस्कारमा थपिने छ । तर, त्यो कार गोल गर्ने वा अर्को कसैलाई निःशुल्क दिने भने होइन । त्यो कार पाउन इच्छुक ब्यक्तिले सुरुमा टेस्ट ड्राइभ गर्नु पर्ने हुन्छ । टेस्ट ड्राइभ गर्ने मध्येबाट बिजेता छनोट गरेर कार उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यहाँ पनि अर्को ट्वीस्ट मिल्छ, यसरी पाएको कार सधैँको लागि पनि होइन । लक्की ड्रबाट बिजेता बनेका मानिसले एक वर्षको प्रयोग गर्ने अधिकार पाउँछन् । जहाँ कुनै पनि किसिमको रकम भने तिर्नु पर्नेछैन ।
पुरस्कार बापत बाँडिने कार पेनाल्टी सुटआउटमा भएका गोलमा भने लागु हुने छैन ।
कोरियन अटोमोबाइल ग्रुप हुन्डाई विगत धेरै वर्षदेखि फिफा विश्वकपसँग जोडिदै आएको छ । तर, विस्तारै चिनियाँ कम्पनीहरुको आँखा पनि यसमा पर्न थालेको हो ।
चेरी अटोमोबाइल ग्रुप, बीवाइडी लगायतका ब्राण्ड यसअघि नै फुटवलसँग जोडिसकेका छन् । यो दौडमा चांगन ग्रुप पनि प्रबेश गरेको हो ।
नेपालमा पनि दिपलको शोरुमहरु फुटवलले सजिएका छन् । कम्पनीले विश्वकप केन्द्रित विभिन्न गतिविधि संचालन गरिरहेको छ ।


