दशैं-तिहार कार विक्रीः भारतमा ४ लाख विक्री हुँदा नेपालमा ठप्प

काठमाडौं । भारतीय बजारमा दशैंदेखि तिहारको बीचमा ३० प्रतिशतले कारको विक्री बढ्दा नेपालमा भने विक्री ठप्प भयो । यस बीच भारतमा ३२ हजार करोड भारतीय रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो वर्षको दशैंदेखि तिहारसम्मको अवधिमा ३ लाख यूनिट कार विक्री भएको थियो । तर, यो वर्ष सोही अवधिमा ४ लाख यूनिट कार विक्री सहित रेकर्ड बनेको हो । तर, नेपालमा भने त्यसको ठ्याक्कै उल्टो भयो । अघिल्लो वर्ष दशैं–तिहारमा करिब ७ हजार यूनिट कार विक्री भएकोमा यो वर्ष एक हजार यूनिट पनि पुरा हुन सकेन ।

केही विद्युतीय कार छाडेर कम्बस्चन इन्जिन भएका कारको विक्री ठप्प प्रायः बन्यो । विशेषत बजारमा देखिएको तरलता अभाव, उच्च ब्याजदर, सेयर बजारमा निरन्तर गिरावट र घरजग्गाको कारोबार ठप्प बन्दा नेपालमा कारको विक्री हुन सकेन ।

करिब एक महिनाको अवधिमा भारतमा चार लाख यूनिट कार विक्री भएको दशैं–तिहारको विक्रीमा करिब १ लाख ९४ हजार यूनिट मारुती सुजुकी एक्लैले विक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले बढी हो ।

यस अवधिमा हुन्डाई मोटर्स इन्डियाले पनि ६५ हजार यूनिट कार विक्री गरेको तथ्यांक सार्वजनिक भएको छ । जुन कम्पनीको अघिल्लो वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले बढी हो । साथै, महिन्द्रा र टाटाले पनि निकै राम्रो ग्रोथ पाउन सफल भएका छन् ।


Back_to_top