गृहमन्त्रीले सडकको ठेकेदारलाई भने-‘ढिलासुस्ती गरे स्वीकार्य हुँदैन’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ-बुटवल सडक खण्डको स्थलगत अनुगमन गरेका छन् ।

उनले निर्माण कार्यमा भइरहेको ढिलाइप्रति चासो राख्दै चिनियाँ ठेकेदार चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले सडक अलपत्र पर्दा यात्रुहरूलाई सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढेको बताए । उनले चिनियाँ ठेकेदार कम्पनीलाई जिम्मेवारीपूर्वक, प्रभावकारी र तीव्र गतिमा काम अघि बढाउन निर्देशन दिएका छन् ।

उनले निर्धारित समयमा काम सक्न निर्देशन दिँदै ढिलासुस्ती गरे स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सक्ने प्रतिवद्धता जनाएका छन् ।

यो सडक निर्माण थालिएको ७ वर्ष बितिसक्दा पनि काम पूरा नहुँदा यात्रु र सर्वसाधरणले निकै सास्ती पाइहरेका छन् । ११४ किमी सडक मध्ये दाउन्ने क्षेत्र बाहेक अन्यत्र भने कालोपत्र भइसकेको छ । दाउन्ने पनि हाल ढलानको काम हुँदैछ ।


Back_to_top