चीनमा बीवाइडीको ग्यारेजमा आगलागी

काठमाडौं । बीवाइडीको चीनस्थित शेन्जेन सहरको पिङशान जिल्लामा रहेको विशाल ग्यारेजमा आगलागी भएको छ । कम्पनीको पिङशान यार्ड परीक्षणमा प्रयोग भएका र थोत्रा स्क्रयाप गर्न राखिएका गाडीहरू थुपार्ने स्थान थियो ।

स्थानीय समय अनुसार बिहान २ बजेर ४८ मिनेट जाँदा उक्त यार्डमा आगलागी भएको थियो । आगलागी सुरू हुने बित्तिकै आपतकालीन बेल बजेको र त्यति नै बेला अग्नी नियन्त्रण सुरू गरिएको सिनाले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

यस घटनामा कुनै किसिमको मानविय क्षति वा चोटपटक लाग्ने घटना नभएको जानकारी बाहिर आएको छ । चिनियाँ सामाजिक संजालहरूमा आगलागीपछिको अवस्था दर्शाउने फोटो र भिडियोहरू भाइरल भएका छन् । तस्बिर र भिडियोमा देखिए अनुसार बाक्लो धुँवा उडेको थियो ।

अहिले आगो नियन्त्रणमा आइसकेको जनाइएको छ । तर, विशाल याडमा कसरी आगलागी भयो भन्ने कुरा बाहिर आएको छैन । बीवाइडीका अनुसार आगलागी भएको संरचना ‘त्रि-आयामी पार्किङ ग्यारेज’ थियो ।

सेक्युरिटिज टाइम्सका अनुसार आगलागी भएको स्थानमा उत्पादन भएका नयाँ गाडी वा डेलिभरीको लागि तयार गरिएका गाडी थिएनन् । यहाँ त केबल परीक्षण गरेर थुपारिएका र स्क्र्यापमा पठाउने अवस्थाका गाडी मात्रै थिए । उक्त घटनामा बीवाइडीको कुनै पनि एसेम्बली लाइनअप पनि परेको छैन । जुन कम्पनीको लागि निकै सुखद कुरा हो ।


Back_to_top