आजदेखि काठमाडौंका यी रुटमा रात्रि बस चल्ने

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात संचालन हुने भएको छ ।

काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र साझा यातायातको सहकार्यमा रात्रिबस संचालन हुने भएको हो ।

रात्रिकालीन बस बेलुका ८ बजेदेखि राति ११ बजेसम्म पूर्वपश्चिम र उत्तर दक्षिण गरी दुई रुटमा संचालन हुनेछ ।

उत्तर-दक्षिण रुट अन्तर्गत ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म बस संचालन हुनेछ । यो रुटको लम्बाइ १६ किलोमिटरको रहेको छ ।

त्यस्तै, पूर्व-पश्चिम रुट अन्तर्गत थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म राबी बस संचालन हुनेछ । यो रुटको लम्बाइ दुरी २० किलोमिटर रहेको छ ।

यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस संचालन हुनेछन् । तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी राखिने छ ।


Back_to_top