यी हुन् नेपालमा सर्वाधिक सफल प्रिमियम कार

काठमाडौं । नेपालमा विक्री हुने १ करोडभन्दा माथि मूल्यका कार धेरै मानिसको पहुँचमा छैन । अहिले नेपालमा विक्री हुने महंगा कारको बजारमा सबैभन्दा धेरै टोयोटाले ओगटेको छ । टोयोटासँग रहेको अधिकांश मोडल १ करोडभन्दा माथि मूल्यका रहेका छन् ।

प्रिमियम ब्राण्ड बीएमडब्लू, मर्सिडिज, ल्याण्डरोभर ज्यागुअर जस्ता गाडी नेपालमा विक्री हुँदै आएको भएपनि यी ब्राण्डको बजार हिस्सा एकदमै कम छ । करिब २ करोड हाराहारी पर्ने टोयोटा फर्चुनर, प्राडो, पजेरो स्पोर्टस् जस्ता मोडलको विक्री ठिकठाक रहेको छ ।

पछिल्लो एक दशकमा नेपालमा सर्वाधिक विक्री हुने महंगा गाडीको पहिलो स्थानमा ल्याण्डक्रुजर प्राडो रहेको छ । अहिले ल्याण्डक्रुजरको मूल्य ३ करोड ३३ लाखसम्म रहेको छ । पावरफुल इन्जिन, ठूलो साइज, टिकाउ बडी, सुरक्षा फिचरले भरिएको कारण ल्याण्डक्रुजर नेपालमा सफल भएको हो । प्रधानमन्त्री, मन्त्री, व्यवसायी, राजनीतिज्ञ र धेरै यात्रा गर्नु पर्ने प्रोफेसनल मानिसहरुको रोजाईमा ल्याण्डक्रुजर पर्दै आएको छ ।

टोयोटा र्‍याभफोर पनि नेपालमा धेरै विक्री वितरण भएको मोडल हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा र्‍याभफोर सर्वाधिक सफल मोडलमा पर्छ । पछिल्लो दिनमा यही सेग्मेन्टमा जीप कम्पासको विक्री धेरै हुन थालेको छ । भारतमा बनेकाले कम मूल्य र जीप ब्राण्डको कारण कम्पासको विक्री बढेको हो । सन् २०१८ मा नेपाल आएको जीप ब्राण्डले सफलताको स्वाद चाखिरहेको छ ।

टोयोटा र्‍याभफोरको मूल्य १ करोड ५६ लाखदेखि १ करोड ९० लाखसम्म रहेको छ । तर, र्‍याभफोरको तुलनामा जीप कम्पासको मूल्य निकै कम छ । कम्पासको मूल्य ८४ लाखदेखि १ करोड ३६ लाखसम्म मात्र रहेको छ ।

मित्शुवीसी आउटल्याण्डर नेपालमा सफल मोडल हो । आउटल्याण्डरको मूल्य कम, फिचर धेरै र जापानी ब्राण्ड भएकै कारण राम्रो विक्री भएको हो । अहिले प्लगइन हाइब्रिड मोडलको आउटल्याण्डर नेपाल आएको छ । एक करोड ५५ लाख मूल्य रहेको ल्याण्डक्रुजर प्लगइन हाइब्रिड मोडलको विक्री निकै राम्रो भइरहेको छ ।

हुन्डाई नेपालमा साना र मिडसाइज गाडीमा सर्वाधिक बजार हिस्सा भएको ब्राण्ड हो । हुन्डाईले बनाउने केही प्रिमियम कार नेपालमा विक्री भइरहेको छ । हुन्डाई शान्ता फे आफ्नो सेग्मेन्टमा निकै सफल मोडल मानिन्छ । अहिले शान्ता फेको २०२१ मोडल नेपालमा विक्री हुँदै आएको छ । यसको मूल्य १ करोड ६८ लाखदेखि १ करोड ८८ लाखसम्म रहेको छ ।


Back_to_top