काठमाडौं । इरानले कतारस्थित अमेरिकी सैन्य शिविरमा आक्रमण गर्दा नेपालको समेत हवाई सेवा प्रभावित भएको छ ।
इरानले सोमबार राति कतारमा रहेका अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको थियो । त्यसपछि कतारले अस्थायी रूपमा आफ्नो हवाइ क्षेत्र बन्द गरेको थियो ।
त्यसको प्रभाव नेपालबाट हुने हवाई उडानमा समेत परेको हो । गए रातिदेखि नै नेपालबाट कतार, दोहा लगायत स्थानमा हुने उडान रद्द भएका हुन् । जसकारण सयौं यात्रु रातिदेखि नै त्रिभुवन विमानस्थलमै अलपत्र परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारले आफ्नो हवाई क्षेत्र बन्द गर्दा सोमबार बेलुका र मंगलबार बिहान नेपालबाट कतारमा हुने उडान रद्द भएको छ । त्यस्तै, कतारबाट नेपाल आउने उडान पनि रद्द भएको छ ।
मुख्य गरी कतार एयर वेज, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्सका उडान रद्द भएका छन् । कतार एयरलाइन्सले हालसम्म रद्द भएका उडान कहिले हुन्छ भन्ने जानकारी गराएको छैन ।
नेपाल एयरलाइन्सले भने रद्द भएको उडान आज मध्यान १२ बजे हुने जानकारी गराएको छ । नेपाल एयरलाइन्सले मंगलबार बिहान एक सूचना जारी गर्दै काठमाडौंबाट दोहा जाने आरए २३९/२४० उडान रद्द भएको बतायो। उक्त उडान मंगलबार मध्याह्न १२ बजे हुने बताएको छ।
‘उक्त उडान आज दिउँसो १२ः०० बजे सञ्चालन हुने भएको छ । यात्रुहरूलाई समयमै विमानस्थलमा उपस्थित हुनुहुन अनुरोध छ। यसबाट यात्रुलाई पर्नगएको असुविधाप्रति निगम परिवार क्षमायाचना गर्दछ,’ सूचनामा भनिएको छ।

