काठमाडौं । हुन्डाई क्रेटा अहिले बजारमा पेट्रोल र इलेक्ट्रीक भर्सनमा उपलब्ध छ । दुई किसिमका ऊर्जा स्रोतबाट चल्ने क्रेटा मध्ये आफूलाई उपयुक्त लाग्ने अप्सन छनोट गर्न सकिन्छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सन् २०२४ मा फेसलिफ्ट क्रेटा नेपाली बजारमा ल्याएको थियो । २०८१ साउनदेखि नयाँ क्रेटाको बिक्री सुरू भएको थियो । साउनदेखि जेठ महिनासम्म ७७० युनिट पेट्रोलबाट चल्ने क्रेटा आयात भएको देखिन्छ ।
कम्पनीले इलेक्ट्रीक क्रेटा भने मार्च महिनाको अन्तिम (चैत ११) गतेबाट बिक्री सुरू गरेको हो । नेपालमा बिक्री सुरू भएको छोटो अवधिमा ३५० युनिट क्रेटा इलेक्ट्रीक नेपाल आइसकेको छ । यसको मतलब २०८१ साउन १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्मको ११ महिनामा क्रेटाको पेट्रोल र इलेक्ट्रीक गरेर १ हजार १२० युनिट आयात भएको देखिन्छ ।
लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै क्रेटा पेट्रोलको उत्पादन थालेसँगै यसको बिक्री थप रफ्तारमा देखिन्छ । नेपालमै एसेम्बल सुरू भएसँगै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ९ लाख रुपैयाँसम्म मूल्य घटाएसँगै थप रफ्तारमा पेट्रोल क्रेटाको बिक्री भइरहेको कम्पनीको भनाइ छ ।

चिनियाँ ईभीहरुको बढ्दो बिक्रीमा हुन्डाई क्रेटा ईभीले आफ्नो अलगै पहिचान बनाउन सफल भएको छ । उक्त कुरालाई नेपाल आएको छोटो समयमा नै ३५० युनिट इलेक्ट्रीक क्रेटा आउनुले प्रमाणित गर्छ ।
यदि, तपाईं पनि क्रेटा किन्ने योजनामा हुनुहुन्छ भने हामीले पेट्रोल क्रेटा र इलेक्ट्रीक क्रेटा बीचको भिन्नतालाई हामीले यहाँ केलाएका छौं । जसले ईभी वा आइसीईमा कुन छनोट गर्ने भन्ने निर्णय लिन तपाईंलाई सजिलो होस् ।
मूल्य
सबैभन्दा पहिला कुरा गरौं पेट्रोल क्रेटाको । नेपालमा बनेको क्रेटा आइसीई विभिन्न ५ भेरियन्टमा उपलब्ध छ । क्रेटाको इन्ट्री भेरियन्ट ईको मूल्य ५३ लाख ९६ हजार, एस अप्सनलको ६३ लाख ९६ हजार, एसएक्स भेरियन्टको ६६ लाख ९६ हजार रुपैयाँ छ ।
यसको एस अप्सनल अटोमेटिक भेरियन्टको ६७ लाख ९६ हजार र एसएक्स अप्सनल अटोमेटिकको ७८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले क्रेटा इलेक्ट्रीकको ४ भेरियन्ट उपलब्ध छ । इलेक्ट्रीक क्रेटाको एजुकेटिभ भेरियन्टको ५१ लाख ९६ हजार, स्मार्ट भेरियन्टको ५४ लाख ९६ हजार, स्मार्ट (ओ) को ५६ लाख ९६ हजार र टप भेरियन्ट प्रिमियम प्लसको मूल्य ५९ लाख ९६ रुपैयाँ तोकिएको छ ।
इलेक्ट्रीक क्रेटाको टप भेरियन्ट पेट्रोल क्रेटाभन्दा १९ लाख रुपैयाँ कम छ ।
पावर र टर्क
पेट्रोल क्रेटामा १.५ लिटर क्षमताको इन्जिन छ । यसको अधिकतम पावर ११५ पीएस रहेको छ । उक्त इन्जिनले १४४ न्युटन मिटर टर्क प्रदान गर्छ ।
पेट्रोलको तुलनामा ईभीको पावर टर्क दुवै बढी छ । क्रेटा ईभीले १३४ पीएस पावर र २५० न्युटन मिटर टर्क प्रदान गर्छ । विद्युतीय क्रेटा इन्ट्यान्ट टर्कको कारण पेट्रोलको तुलनामा छिटो शून्यदेखि १०० किलोमिटरको स्पीड भेटाउन सफल हुन्छ ।
कुन किन्ने ?
तपाईंको छनोट इलेक्ट्रीक एसयूभी हो भने क्रेटा तपाईंको लागि उत्तम विकल्प हुनसक्छ । किन भने भारतमा बनेको क्रेटा ईभी पार्टसको उपलब्धतामा बलियो छ । पार्टसको मूल्य पनि किफायति पाउन सकिन्छ ।
२०० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स, बल्की डिजाइन र देशभर रहेको हुन्डाईको सर्भिसका कारण तपाईंले आवश्यक परेको सर्भिस सुविधा समयमै पाउन सक्नु हुनेछ । एडास फिचरदेखि आइप्याडल टेक्नोलोजीसम्म पाइने भएको कारण यसले प्रयोगकर्तालाई सन्तुष्ट बनाउन सक्छ ।
यदि, तपाईंको छनोट पेट्रोल क्रेटा हो भने सन् २०१६ देखि नै नेपालमा सफलताको झण्डा गाडिरहेको कारण ढुक्कले खरिद गर्दा हुन्छ । त्यसैले कम्पनीले पनि तपाईं आफैं छनोट गर्नुहोस् भनेको छ ।


