फोर्डको ५५ वर्ष पुरानो मोडलमा झुम्मिए ग्राहक, दुई दिनमै २ लाख ३० हजार बुकिङ्ग

काठमाडौं । अमेरिकी कार उत्पादक कम्पनी फोर्डको ५५ वर्ष पुरानो मोडलमा ग्राहकको आकर्षण यसरी बढ्यो कि कम्पनीले खुल्ला गरेको अनलाइन बुकिङ्गमा लगइन गर्नेको चापले वेभसाइट नै क्र्यास भयो ।

ब्रान्को एसयूभीको छैठौं संस्करणको बुकिङ्ग खोलेको फोर्डले दुई दिनमा २ लाख ३० हजार बुकिङ प्राप्त गरेको छ । अहिलेसम्म दुई ढोका मात्रै प्रयोग भएको ब्रान्को उत्पादन गर्दै आएको फोर्डले छैठौं जेनेशेनलाई भने २ र ४ ढोकामा ल्याएको छ ।

दुई इन्जिन अप्सनको साथ बजारमा आउने ब्रान्कोमा १.५ लिटर र २.७ लिटर भिसिक्स इन्जिन उपलब्ध रहने छ । यो एसयूभी स्पोर्टस, दुई ढोके तथा ४ ढोके गरेर तीनवटा भेरियन्टमा उत्पादन हुने छ ।

फोर्डको यो अफरोड एसयूभीले एफसीएको चर्चित अफरोड एसयूभी जीप र्याङलरसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । फोर्डको ब्रान्कोको २ लाख ३० हजार बुकिङ भएता पनि यसले बिक्रीलाई भने जनाउने छैन ।

ब्रान्को एसयूभी बुकिङ गर्दा ग्राहकले १ सय डलर तिरेर बुकिङ गरेका छन् । तर, पछि गाडी मन नपरेको खण्डमा ग्राहकले बुकिङ रद्द गरेर आफ्नो पैसा फिर्ता लिन सक्ने छन् । फोर्ड २०२१ मार्चबाट यसको डेलिभरी सुरु गर्ने जनाएको छ ।

अहिले बुकिङ भएका सबै ग्राहकले ब्रान्को एसयूभी खरिद गरेको खण्डमा सबैले पाउन सन् २०२२ को अन्त्यसम्म कुर्नु पर्ने देखिएको छ ।


Back_to_top