काठमाडौं । अमेरिकी अटोमोवाइल कम्पनी फोर्डले भारतमा आफ्नो उत्पादन बन्द गर्ने घोषणा गरेको छ । सन् १९९४ बाट भारतमा कार उत्पादन गर्दै आएको फोर्डले आफ्नो सम्पूर्ण उत्पादन बन्द गर्ने घोषणा गरेको हो ।
कम्पनीले भारतको लागि यही वर्ष सन् २०२१ को चौथो क्वाटरबाट उत्पादन रोक्ने जनाएको छ, भने निर्यात बजारको लागि सन् २०२२ को दोस्रो क्वाटरबाट रोक्ने उल्लेख गरेको छ ।
फोर्डले उत्पादन रोक्नु पर्नुको मुख्य कारण जडित क्षमता अनुसार बजारमा कारको माग नहुँदा नोक्सानी व्योर्होनु परेको उल्लेख गरेको छ । भारतमा फोर्डको दुईवटा प्लान्ट संचालनमा रहेको छ । दुबै प्लान्टको मिलाउँदा करिब ४ लाख यूनिट उत्पादन क्षमता रहेको भएपनि त्यसको २० प्रतिशत करिब ८० हजार कार मात्र उत्पादन हुँदै आएको छ । यही कारण कम्पनीले आफ्नो उत्पादन बन्द गर्न लागेको हो ।
विगत १० वर्षमा २ विलियन डलर घाटामा गएसँगै कम्पनीले उत्पादन रोक्ने घोषणा गरेको फोर्डका सीइओ जीम फर्लीले जानकारी दिएका छन् । फोर्डले भारतमा कार उत्पादन रोकेपनि बजारबाट भने बाहिर ननिस्कने जनाएको छ । उसले पूर्णरुपमा तयार कारहरु ल्याएर भारतीय बजारमा विक्री गर्ने योजना अगाडि सारेको छ ।
कम्पनीले आफ्ना ग्राहकलाई आस्वस्थ पार्दै भनेको छ, ‘हामी उत्पादन बन्द गरेपनि बजारबाट बाहिरिन लागेका होइनौं । यहाँ भएका हाम्रा लाखौं ग्राहकलाई हामी सबै किसिमका सेवा उपलब्ध गराउने छौं । भारतमा बन्ने सबै किसिमका गाडी उत्पादन बन्द गरेपनि अन्यत्र बनेका गाडी ल्याएर विक्री गर्ने योजना बनेको छ ।’
के हुन्छ नेपालमा ?
नेपालमा पनि फोर्डका उत्पादनको विक्री र सेवा निरन्तर हुने आधिकारीक वितरक जिओ फोर्डले जनाएको छ । अहिलेको अवस्थामा सबै कुरा प्रस्ट नभएको भन्दै कम्पनीका प्रबन्ध निर्देशक आकाश गोल्छा भन्छन्, ‘भारतमा उत्पादन बन्दै भयो भने ह्याचव्याक र सियूभी हामीसँग हुँदैन । तर, जति गाडी विक्री भएको छ सबै गाडीले निरन्तररुपमा सर्भिस पाउने छन् ।’
गोल्छाका अनुसार कम्पनीले एशियाली, यूरोप र अमेरिकी प्लान्टबाट उत्पादन भएका प्रिमियम गाडी नेपाल ल्याउने तयारी भइरहेको छ । साथै अहिले बजारमा भएका गाडीलाई सबै किसिमकाे सर्भिस सुविधा प्रदान गर्ने कुनै कसर बाँकी राखिने छैन ।
फोर्डले अहिले भारतमा उत्पादन भएको फिगो, एस्पायर, इकोस्पोर्ट, फ्रिस्टाइल, इन्डेभर जस्ता मोडल विक्री गर्दै आएको छ । अब कम्पनीले मस्टाङ इलेक्ट्रीक लगायतका गाडी आयात गर्ने तयारी गरिरहेको छ । कम्पनीले थाइल्याण्डबाट आयात गर्दै आएकाे पीक अप रेन्जर र र्याप्टर निरन्तर रहने छ, भने इन्डेभरकाे स्थानमा एभरेष्ट आउने छ ।


