मोटरसाइकल किन्ने पैसामै इलेक्ट्रीक कार, यी हुन् ४ छनोट

काठमाडौं । ५ लाख मूल्य तिरेर मोटरसाइकल किन्ने योजना तपाईले बनाउनु भएको छ भने, विद्युतीय कार नै तपाई खरिद गर्न सक्नु हुन्छ । बढ्दो न्यू इनर्जी भेहिकलको मागसँगै बजारमा कम मूल्य भएका सहर केन्द्रित मिनी ईभी नेपाल आइरहेका छन् ।

आगामी भदौ २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा टाटा, एमजी, सेरेस र विलिङले साना कार राख्ने छन् । यी कारहरु किन्न करिब ५ लाख रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्छ । बाँकी रकम कर्जा लिएर सहजै कार किन्न सकिन्छ ।

यसरी लिएको कर्जा पनि पेट्रोलियम पदार्थबाट चल्ने साधनमा गरिने इन्धन, सर्भिसिङ लगायतका खर्चमा केही रकम थप गर्दा मासिक किस्ता तिर्न पुग्छ । मासिक किस्ता वापत बुझाउनु पर्ने रकममा सहज हुने भएसँगै विद्युतीय कारमा जान धेरैलाई सहज हुने देखिन्छ ।

अहिले बजारमा सामान्य १५० सीसीदेखि ३०० सीसीसम्मका मोटरसाइकलको मूल्य ४ लाखदेखि ७ लाखसम्म पर्ने गरेको छ । यस्तोमा सानो विद्युतीय कार किन्न चहानेलाई मिनी ईभीहरु उपयुक्त मानिन्छन् ।

यी हुन् ४ विकल्प

बजारमा आउन लागेका र आइसकेका विभिन्न ४ ब्राण्डका साना ह्याचव्याकहरु अटो शोमा प्रदर्शनी हुनेछन् । यी कारहरु चलाउन सहज र आधुनिक फिचरले भरिपूर्ण हुने भएका कारण धेरैले आफ्नो आवश्यकता अनुसारको कार छनोट गर्न सक्नेछन् ।

अटो शोमा टाटाले आफ्नो चर्चित ह्याचव्याक कार टियागो ईभी, एमजीले कोमेट, सेरेसले ई-१ र विलिङले अहिले बिक्री गर्दै आएको एयर मिनी प्रदर्शनी गर्ने छ । यी ४ वटै कार मोटरसाइकलबाट कम खर्चमा कारमा उक्लनेको लागि उपयुक्त हुने देखिन्छ ।

टियागो ईभी

भारतमा निकै सफल मानिएको टियागो ईभी नेपालमा पनि धेरैले कुरेर बसेको ह्याचव्याक कार हो । बजारमा उपलब्ध हुन्डाई आई १० नियोस र स्वीफ्ट जस्ता मोडलसँग प्रतिस्पर्धा गरिरहेको टियागो इलेक्ट्रीकमा आउन लागेको हो ।

टाटाको जीपट्रोन प्रविधिमा बनेको टियागो ईभी पेट्रोल कारको तुलनामा फरक कलर र अगाडिको भाग फरक बनाइएको छ । भारतमा दुई ब्याट्री अप्सनमा उपलब्ध टियागो ईभी नेपाल कुन ब्याट्रीमा आउँदै छ भन्ने खुलाईको छैन । कम्पनीले नाडा अटो शोमा यसलाई विशेष महत्वका साथ प्रदर्शनी गर्दैछ ।

टियागोमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको ब्याट्री छ । कम्पनीका अनुसार टियागो ईभीले २४ किलोवाट आवरको ब्याट्री प्याक भर्सनले एक पटकको फुलचार्जमा ३१५ किलोमिटर र १९.२ किलोवाटआवर ब्याट्री प्याक भर्सनले २२० किलोमिटरको रेन्ज दिने छ ।

टियागोले जम्मा ५.७ सेकेण्डमा ६० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्छ । यसमा सिटी र स्पोर्टस गरी दुई ड्राइभ मोड पाउन सकिन्छ । ४५ थरी फिचर रहेको जी-कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर यसमा पाउन सकिन्छ ।

टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् । यसको मूल्य २५ देखि ३० लाख भित्रै रहने अनुमान गरिएको छ ।

सहर केन्द्रित कोमेट

सहरी यात्राको लागि निकै किफायती रहने कोमेट एमजीको ब्राण्ड नेमको कारण नेपालमा चर्चा पाउने अनुमान गर्न सकिन्छ । एमजीले कोमेटलाई आरामदायी बनाउन रिमोर्ट लक, इन्टेलिजेन्ट की, किलेस इन्ट्री, स्मार्ट स्टार्ट सिस्टम, स्टेरिङ टिल्ट सुविधा, अगाडि पावर विन्डो, म्यानुअल एसी र हिटर दिएको छ ।

आजकल कार एउटा ग्याजेटकै अवस्थामा पुगेको छ । त्यसैले एमजीले कोमेटलाई प्रविधिमैत्री बनाउन इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल क्लष्टर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, आई-स्मार्ट सहितको ५५ भन्दा धेरै कनेक्ट फिचर, २ स्पीकर, १२ भोल्टको पावर सकिट, फास्ट चार्जर सहितको यूएसबी पोर्ट दिएको छ ।

सुरक्षाको लागि पनि सिटी कारमा निकै ध्यान दिइएको छ । कम्पनीले यसमा आईपी६७ रेटेड ब्याट्री, ड्यूल एयरब्याग, इबीडीसहितको एबीएस, रिभर्स पार्किङ क्यामेरा, रियर पार्किङ सेन्सर दिएको छ ।

त्यसैगरी, एलइडी रियर फगल्याम्प, फलो मी हेडल्याम्प, टायर प्रेसर मोनिटर, सिट वेल्ट रिमाइन्डर, म्यानुअल पार्किङ ब्रेक, म्यानुअल डे/नाइट आइआरभीएम, आइएसओ फिक्स चाइल्ड सिट, स्पीड सेन्सीङ अटो डोर लक जस्ता फिचरले यसलाई सुरक्षीत कार बनाएको छ ।

एमजीले यसलाई १७.३ किलोवाट आवरको ब्याट्री दिएको छ । यसमा ३१ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । सिंगल चार्जमा २३० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यसको मूल्य २० देखि २५ लाख भित्रै रहने छ ।

सेरेस ई-१

एमएडब्लू वृद्धिले नेपाल ल्याउन लागेको सेरेस ब्राण्डका दुई इलेक्ट्रीक कार अटो शोमा रहने छ । कम्पनीले ई-१ नामको मिनी ईभी र सेरेस-३ नामको एसयूभी अटो शोमा देखाउने छ ।

कम्पनीले ल्याउने सेरेर ई-१ अहिले चीन, इन्डोनेशिया, पाकिस्तान जस्ता देशमा बिक्री वितरण हुँदै आएको छ । सेरेस ई-१ दुई ढोका भएको कार हो । सहरी क्षेत्रलाई ध्यानमा राखेर तयार पारेको यो मिनी ईभी अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री अप्सनमा बिक्री हुँदै आएको छ ।

एमएडब्लू वृद्धिले बिक्री गर्ने सेरेस ई-१ कुन ब्याट्री अप्सनमा नेपाल आउँछ कम्पनीले जानकारी दिएको छैन । तर, यसको सर्ट रेन्ज मोडलमा १३.८ किलोवाट आवर र लङ रेन्ज मोडलमा १६.८ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । सर्ट रेन्जले १८० र लङ रेन्जले २२० किलोमिटर रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ ।

यसमा मोटर पनि फरक छ । सर्ट रेन्ज भर्सनमा २५ किलोवाट र लङ रेन्ज भर्सनमा ३० किलोवाट क्षमताको मोटर रहेको छ । दुबै भेरियन्टमा एसी चार्जर मात्रै प्रयोग हुन्छ । यसलाई ३.३ किलोवाट क्षमताको एसी चार्जरले अधिकतम ४ घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

यसमा कम्पनीले सुरक्षा फिचर पनि राम्रोसँग दिएको छ । अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको कारमा, सिटबेल्ट रिमाइन्डर, टायर प्रेसर मोनिटर, पार्किङ सेन्सर, हिल होल्ड कन्ट्रोल, एयरव्याग जस्ता फिचर पाउन सकिन्छ ।

यसमा प्रयोग भएका लाइटहरु एलइडी छन् । गाडीको साइज पनि निकै आकर्षक छ । यसको लम्वाई ३०३० एमएम, चौडाई १४९५ एमएम, उचाई १६४० एमएम रहेको छ ।

सेरेस ई-१ मा पावर स्टेरिङ पाउन सकिन्छ । साथै, यसमा दुई ढोका र ४ सिट क्षमता रहेको छ । कम्पनीले यसको आधिकारीक मूल्य बाहिर नल्याए पनि १५ देखि २० लाख रुपैयाँ भित्रै मूल्य तोकेर बिक्री सुरु गर्नेछ ।

यस्तो छ विलिङ मिनी

नेपालमा बिक्री हुँदै आएको विलिङ एयर मिनी पनि कम मूल्यको सिटी कार हो । सानो साइज, राम्रो रेन्ज र सुरक्षा फिचरमा पनि राम्रो भएको कारण चीनमा यसको बिक्री निकै राम्रो भयो । यो मिनी कारको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम र उचाई १६३१ एमएम रहेको छ ।

विलिङको सर्ट रेन्ज भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री छ । यसमा मोटर पनि ३० किलोवाट क्षमताको मात्रै छ । यसले एक पटकको फुल चार्जमा २०० किमि रेन्ज दिने कम्पनीले दावी छ । कम्पनीले २० लाख ९९ हजार मूल्य तोकेर यसलाई बिक्री गर्दै आएको छ ।\

दुई ढोका र चार सिट अप्सनमा नेपाल आएको विलिङ एआई फिचर भएको मिनी ईभी हो । सुरक्षाको लागि यसमा एयरव्याग, इबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटर, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध छन् । कम्पनीले यसको व्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ ।


Back_to_top