काठमाडौ । विश्वको सबैभन्दा ठूलो पेट्रोलियम पदार्थ उत्पादन गर्ने देश साउदी अरबले आफ्नै इलेक्ट्रीक भेहिकल ब्राण्डको विकास गर्ने भएको छ । साउदी अरबले ताइवानी कम्पनी फक्सकनसँगको साझेदारी इलेक्ट्रीक भेहिकल उत्पादन गर्न लागेको हो ।
साउदीको पव्लिक इन्भेन्टमेन्ट फण्ड र आईफोनको कन्ट्रयाक्ट निर्माता फक्सकनको संयुक्त लगानीमा उत्पादन गर्न लागेको यो ईभी ब्राण्डको नाम ‘सेर’ राखिने भएको छ । यो कम्पनीले निर्माण गर्ने ईभीमा जर्मन कार मेकर बीएमडब्लूबाट लाइसेन्स प्राप्त कम्पोनेन्टहरुको प्रयोग हुनेछ ।
फक्सकनले ताइवानमा आफ्नै इभी प्ल्याटफर्म विकास गरिसकेको छ । कम्पनीले फक्सट्रन नामको ईभी ब्राण्डको कार बनाएर ताइवानी मार्केटमा विक्री गर्ने लक्ष्य लिएको छ ।
साउदी अरबको यो पव्लिक इन्भेष्टमेन्ट फण्डको अमेरिकी ईभी कम्पनी टेस्लामा समेत लगानी रहेको थियो । सन् २०१९ मै फण्डले आफ्नो टेस्लाको लगानी विक्री गरिसकेको छ । साउदीले आफूले विकास गर्ने इभी सन् २०२६ मा १ लाख ५० हजार यूनीट निर्यात गर्ने लक्ष्य लिएको छ ।
यो वर्ष साउदीले पेट्रोलियम पदार्थ विक्रीबाट हालसम्म कै सबैभन्दा धेरै नाफा कमाउन सफल भएको छ । साउदीले आफ्नो तेलमा आधारित अर्थतन्त्रलाई विविधिकरण गर्ने योजना अनुसार ईभी उत्पादनमा लगानी गर्न लागेको हो ।
साउदी पव्लिक फण्डले सन् २०१८ मै अमेरिकी ईभी मेकर लुसिडमा १ बिलियन डलरको लगानी गरिसकेको छ । साउदीले लुसिडबाट १ लाख यूनिट ईभी खरिद गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।


