काठमाडौं । काठमाडौं उपत्यकमा विपद्को समयमा खोज तथा उद्धारका लागि नेपाल वायुसेवा संघले निःशुल्क हेलिकप्टर उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा संचालक संघ नेपाल बीच विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकोप्टर प्रयोग गर्ने सम्बन्धमा समझदारी भएको हो ।
गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा प्राधिरकणका तर्फबाट कार्यकारी प्रमुख इ. दिनेशप्रसाद भट्ट र वायुसेवा संचालक संघका तर्फबाट अध्यक्ष मनोज कार्कीले हस्ताक्षर गरे ।
समझदारी अनुसार संघले काठमाडौं उपत्यकाभित्र विपद्को समयमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नु परेमा निःशुल्क परिचालन गर्ने/गराउने व्यवस्था मिलाउने छ।
त्यसैगरी, संघले काठमाडौं उपत्यका बाहिर परिचालन गर्नुपरेमा हेलिकप्टर कम्पनीको सामाजिक उत्तरदायित्वलाई समेत मध्यनजर गरी न्यूनतम खर्चमा परिचालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

