काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले नबढाउने भएको छ ।
आसन्न चाडपर्व र मुलुकको हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको यथावत् राखिएको निगमले जानकारी गराएको हो ।
सोमबार इन्डियन आयल कर्पोरेसनले निगमलाई पेट्रोलको मूल्य प्रतिलिटर २.२९ रुपैयाँ र डिजेल ३.४६ रुपैयाँ बढाएर पठाएको थियो । यसअघि निगमले भारतबाट बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने गरेकोमा यसपटक बढेर आए पनि पुरानै मूल्य यथावत राखेको हो ।
‘इन्डियन आयल कर्पोरेसनबाट सोमबार ९१४ सेप्टेम्बर० पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल ३ रुपैयाँ ४६ पैसा बढेर आएको छ । आसन्न चाडपर्वको अवसर र मुलुकको हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत् राखिएको छ,’ निगमले भनेको छ ।
निगमका अनुसार हाल पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८.५० रुपैयाँ, दोस्रो वर्गको १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, डिजेल तथा मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १४२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको प्रतिलिटर १४४ रुपैयाँ र तेस्रो वर्गको १४५ रुपैयाँ कायम गरिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

