देशलाई ईभी युगमा लैजाने कुलमानको घोषणा, कार्यदल गठन

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशलाई विद्युतीय सवारी साधन (ईभी) युगमा लैजाने घोषणा गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्दै मन्त्री घिसिङले विद्युतीय सवारी साधनको प्रवद्र्धन र चुनौती समाधानका उपाय बारे अध्ययन गर्न ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेका हुन् ।

उनले मन्त्रालयका पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् । समितिमा यातायात व्यवस्था विभागका महानिर्देशक, मन्त्रालयका कानुन उपसचिव, आन्तरिक व्यवस्थापन शाखाका उपसचिव र मेकानिकतर्फका सिनियर डिभिजनल इन्जिनियर सदस्य रहेका छन् ।

उक्त कार्यदललाई ७ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ । कार्यदललाई विद्युतीय सवारी साधनको हालको अवस्था, विद्यमान नीति, कानुनी व्यवस्था लगायत बारेमा अध्ययन गर्नेछ ।

त्यस्तै, ईभीको प्रवर्धन गर्न नीतिगत, संस्थागत र आर्थिक पक्षमा सुधारका लागि सुझाव पेश गर्न, ईभीको गुणस्तर र मापदण्ड सिफारिस गर्न भनिएको छ ।

मन्त्री घिसिङले विद्युत्को खपत बढाउन इन्धन सवारीलाई अब विद्युतीयमा कन्भर्ट गर्नुपर्ने बताए । विद्युतको खपत बढाउने गरी पूर्वाधार बनाउनुपर्ने उनको भनाइ थियो ।

‘हामीसँग विद्युत छ । प्राविधिक र म्यानेजरियल समस्या होलान् । त्यसलाई समाधान गर्दै पेट्रोल, डिजेल र ग्यासको इम्पोर्ट घटाउँदै लैजानुपर्छ । जसले आयात खर्च रोकिन्छ र विद्युतको खपत बढ्छ । त्यसले क्लाइमेट चेन्जमा ठूलो इम्प्याक्ट ल्याउँछ । सवारीसाधन र भान्छामा विद्युत प्रयोग गर्नासाथ धेरै कुरा समाधान हुन्छ । त्यसका लागि पूर्वाधार बनाउनुपर्छ, उनले भने ।

उनले नेपाल विद्युतीय सवारीसाधनको प्रयोगमा नेपाल विश्वमै शीर्ष देशमा पर्ने बताए । अब सम्पूर्ण उद्योगधन्दा, कलकारखाना, रेल, मेट्रो र सवारीसाधन विद्युतबाटै चलाउनु पर्ने उनको भनाइ छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्री घिसिङलाई मन्त्रालयको संगठनात्मक संरचना र हालका प्रमुख चुनौतीहरूबारे विस्तृत जानकारी गराएका थिए । उनले जेनजीको प्रदर्शनका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मन्त्रालय अन्तर्गतका संरचनामा पुगेको क्षति र सडक पूर्वाधारमा बाढी पहिरोका कारण पुगेको क्षति मन्त्रालयको सबैभन्दा चुनौतीपूर्ण विषय भएको जानकारी गराएका थिए ।


Back_to_top