काठमाडौं । बीपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा संचालन गर्ने निर्णय गरेको हो ।
वर्षायाम लागेसँगै बाढीपहिरोबाट हुने सम्भावित क्षति रोक्नका लागि गत असार ७ गतेदेखि बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको थियो । असार ७ गतेदेखि साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म तथा साउन महिनाभर साँझ ५:०० देखि बिहान ५:०० बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो । पछिल्लो पटक यही भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको थियो ।
काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले आगामी असोज १ गतेदेखि पूर्ण रूपमा राजमार्ग खोल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।
गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको थियो ।
बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमीका विभिन्न स्थानमा बढीले क्षति र्पुयाएको थियो ।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौं सवारीसाधन आवतजावत गर्छन् ।


