काठमाडौं । चिनियाँ ब्राण्ड जिलीले जनवरी २०२६ को होलसेल बिक्री तथ्यांकमा बीवाइडीलाई पछाडि पारेको छ । निकै आक्रमक बजार विस्तारमा देखिएको जिलीले जनवरीमा २ लाख ७० हजार १६७ युनिट कार बिक्री गरेको हो ।
सन् २०२५ को हरेक महिनामा अगाडि रहेको बीवाइडीले नयाँ वर्ष २०२६ को पहिलो महिनामा २ लाख ५ हजार ५१८ युनिट कार मात्रै होलसेल बिक्री गरेको छ । अघिल्लो वर्षको जनवरीको तुलनामा ३०.६७ प्रतिशतले बिक्रीमा गिरावट आएको हो ।
जिलीको भने अघिल्लो वर्षको जनवरीको तुलनामा १.२९ प्रतिशतले बिक्री बढेको देखिन्छ । डिसेम्बर २०२५ को तुलनामा जनवरी २०२६ मा जिलीको बिक्री १४.०८ प्रतिशतले बढेको हो ।
जिलीको बिक्रीमा सबै कार न्यू इनर्जी भेहिकल भने होइन । कम्पनीको इलेक्ट्रीक भेहिकलको बिक्रीमा भने गिरावट आएको देखिन्छ । उसले ६८ हजार १२ युनिट ब्याट्री इलेक्ट्रीक कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.०५ प्रतिशतले कम हो ।
जिलीले प्लगइन हाइब्रिड मोडलको बिक्री भने ३६.९१ प्रतिशतले बढाएर ५६ हजार २४० युनिट पुर्याएको छ । जिली र जिली ग्यालेक्सी ब्राण्ड मिलाएर जम्मा २ लाख १७ हजार ४३८ युनिट कार बिक्री भएको कम्पनीको दाबी छ ।
त्यसका अलावा जिकर ब्राण्डले जनवरी २०२६ मा २३ हजार ८५२ युनिट बिक्री गरेको छ । साथै, जिलीकै पूर्ण स्वामित्व रहेको लिंक एण्ड कोले जनवरी महिनामा २८ हजार ८७७ युनिट कार बिक्री गरेको तथ्यांक कम्पनीले बाहिर ल्याएको हो ।
यस अवधिमा जिलीले ६० हजार ५०६ युनिट चीनबाट निर्यात गरेको जनाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२१.२० प्रतिशतले वृद्धि भएको हो ।


