काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सवारीसाधनमा क्षति पुगेकाहरूले झण्डै पौने २ अर्ब रुपैयाँ बीमा दाबी भुक्तानी पाएका छन् ।
आन्दोलनबाट २३३० निजी सवारी साधनमा क्षति पुगेको भन्दै ३ अर्ब ८५ करोड ८१ लाख ३५ हजार रुपैयाँ क्षतिपूर्ति दाबी भएको थियो ।
सोमध्ये माघ ५ गतेसम्म १ अर्ब ७० करोड २४ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी भइसकेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
आन्दोलनका क्रममा देशभर साढे १२ हजार बढी निजी तथा सरकारी सवारी साधनमा आगजनी र तोडफोड गरिएको थियो । जसमा सरकारी सवारी साधनको बीमा नै नगरिएकाले दाबी परेको छैन । त्यस्तै, निजीतर्फ पनि क्षति पुगेका केही सवारी साधनको बीमा नभएको पाइएको छ ।
कम्प्रिहेन्सिभ मोटर बीमा गरेकाहरूले मात्रै सवारी साधन क्षति भए बापत क्षतिपूर्ति पाउँछन् ।
प्राधिकरण अनुसार आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कुल २३ अर्ब ७७ करोड रुपैयाँ बढीको बीमा दाबी परेको छ ।
१४ निजीवन र ३ लघु निर्जीवन बीमा कम्पनीहरूमा कुल ३ हजार ३३४ वटा दाबी परेको हो । प्राधिकरणका अनुसार सबैभन्दा धेरै १८ अर्ब ९५ करोड रुपैयाँ बराबरको ७१६ सम्पत्ति बीमा दाबी परेको छ ।
त्यस्तै, ५५ करोड ८७ लाख रुपैयाँ बराबरको २२९ वटा इन्जिनियरिङ तथा ठेकेदार, १ करोड ६८ लाख रुपैयाँ बराबरको १२ वटा परिवहन र ३८ करोड ५२ लाख रुपैयाँ बराबरको ४७ वटा अन्य बीमा दाबी परेको छ ।

