काठमाडौं । कोरियन कार निर्माता हुन्डाई मोटर्स ग्रुपको लग्जरी ब्राण्ड जेनीससले नयाँ प्रिमियम सिटी कार ल्याउने भएको छ । कम्पनीले यूरोपियन बजारलाई ध्यानमा राखेर सिटी कार ल्याउन लागेको हो ।
हुन्डाई मोटर कम्पनीले सन् २०१९ को न्यूयोर्क इन्टरनेशनल मोटर शोमा ‘जेनीसस मिन्ट’ नाम दिएर एउटा कन्सेप्ट कार देखाएको थियो । त्यही कन्सेप्टमा आधारित रहेर लग्जरी इलेक्ट्रीक कार ल्याउन लागेको मिडिया रिपोर्टहरुले दावी गरेका छन् ।

यूरोपियन उपभोक्ताको रोजाई अनुसारको डिजाइनमा देखिएको मिन्ट कन्सेप्टलाई अबको केही समयमा नै कम्पनीले तयार गर्ने अपेक्षा गरिएको छ । यदि यो कार बजारमा आउने हो भने यूरोपमा लग्जरी मिनी कार खोज्नेको रोजाईमा पर्ने सहजै अनुमान लगाउन सकिन्छ ।
हुन्डाई मोटर्स ग्रुपका डिजाइन समूहका भाइसप्रेसिडेन्ट साङवाप लीका अनुसार अहिले पनि यो कन्सेप्ट कारमा काम भइरहेको छ । उनि भन्छन्, ‘हामी जब सहरमा बस्छौं भने, त्यहाँ ठूला लग्जरी कारको आवश्यकता पर्दैन । त्यसको लागि साना लग्जरी कार दिने हाम्रो योजना हो ।’
हुन्डाई मोटर्स ग्रुपको ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बन्ने यो मिनी कारले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसमा रहने ब्याट्री मोटर्स लगायतको टेक्नीकल डिटेल अहिलेसम्म बाहिर आएको छैन । यद्यपि, यो मिनी कारले सिंगल चार्जमा ३२० किलोमिटर माथि रेन्ज प्रदान गर्नेछ ।
नेपालमा हुन्डाई मोटर्स अन्तर्गतको हुन्डाई र किया ब्राण्डका गाडी विक्री वितरण हुँदै आएको भएपनि लग्जरी ब्राण्ड जेनीससका गाडी आधिकारीक रुपमा विक्री वितरण भइरहेको छैन । तर, नेपालमा रहेको कुतनीतिक नियोगहरुमा भने केही यूनिट जेनीससका गाडी छन् ।


