एक महिनामै बिके १६ लाख ईभी

काठमाडौं । विश्वभर विद्युती सवारी साधन (ईभी)को बिक्रीले रफ्तार लिएको छ । अधिकांश देशले प्रदूषण नियन्त्रणका कम्बस्चन गाडीको प्रयोगमा निरुत्साहन गर्दै ईभीलाई प्रोत्साहन गर्ने नीति लिएपछि महिनैपिच्छे बिक्री बढ्दो क्रममा रहेको हो ।

पछिल्लो एक महिनामा मात्रै विश्वभर १६ लाख युनिट ईभी बिक्री भएको छ । यो संख्या ब्याट्री ईभी र प्लगइन ईभी दुवैको हो । मार्केट रिसर्च एजेन्सी ‘आरएचओ मोसन’का अनुसार सन् २०२५ को जुलाइमा विश्वभर १६ लाख युनिट ईभी बिक्री भएका हुन् ।

यो सन् २०२४ को सोही अवधिको तुलनामा २१ प्रतिशतले धेरै हो । गत वर्ष जुलाइमा विश्वभर १४ लाख ईभी बिक्री भएको थियो ।

यद्यपि, सन् २०२५ को जुनको तुलनामा भने ईभी बिक्रीदर घटेको छ । जुन महिनामा ईभीको बिक्री २५ प्रतिशतले बढेको थियो ।

जुलाइमा विश्वकै ठूलो कार बजार चीनमा समेत ईभी बिक्री केही सुस्त देखिएको छ । सन् २०२५ को पहिलो ६ महिनामा चीनमा ईभीको बिक्री औसतमा मासिक ३६ प्रतिशत थियो । तर, जुलाइमा १२ प्रतिशतमा सीमित भएकाे छ । चीन सरकारले ईभी र प्लगइन हाइब्रिड खरिदमा दिएको सरकारी अनुदान रोकेपछि बिक्रीमा गिरावट आएको हो ।

जुलाइमा झण्डै १० लाख युनिट चिनियाँ ईभी बिक्री भएका छन् । त्यस्तै, युरोपेली ईभीको बिक्री ४८ प्रतिशतले बढेर लगभग ३ लाख ९० हजार युनिट, उत्तर अमेरिकी गाडीको बिक्री १० प्रतिशतले बढेर १ लाख ७० हजार युनिट बढी पुगेको छ । बाँकी विश्वमा ईभीको बिक्री १ लाख ४० युनिट रहेको छ ।

७ महिनामा बिके १ करोड बढी ईभी

सन् २०२७ को ७ महिनामा विश्वभर १ करोड बढी ईभी बिक्री भएको छ । गत वर्षको तुलनामा ईभी बिक्री २७ प्रतिशतले बढेर १ करोड ७ लाख युनिट पुगेको हो ।

त्यस्तै, चीनमा ईभीको बिक्री २९ प्रतिशतले बढेको छ । जुलाइसम्म चीनमा ६५ लाख युनिट ईभी बिक्री भएका छन् । त्यस्तै, युरोपमा २३ लाख, उत्तर अमेरिकामा १० लाख र विश्वका अन्य भागमा ९ लाख ईभी क्रिी भएको छ । ईभीको बिक्रीदर वृद्धि क्रमशः युरोप ३० प्रतिशत, उत्तर अमेरिका २ प्रतिशत र बाँकी अन्य देशमा ४२ प्रतिशत रहेको छ ।


Back_to_top