नागढुंगा सुरुङमा लाग्ने टोल शुल्क तोकियो, भित्रिँदाभन्दा बाहिरिँदा सस्तो, केले कति तिर्नुपर्छ ?

काठमाडौं । सरकारले नागढुंगा-नौबिसे सुरुङमार्गको उपभोग दस्तुर (टोल शुल्क) तोकेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सुरुङमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनले तिर्नुपर्ने शुलक तोकेको हो ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले टोल शुल्क निर्धारण गरेको जानकारी दिए ।

सरकारले सवारीस् साधनको वर्ग अनुसार टोल शुल्क तोकेको छ । जसमा सुरुङमार्ग हुँदै काठमाडौं आउँदाभन्दा काठमाडौंबाट बाहिरिँदा लाग्ने शुल्क कम तोकिएको छ ।

नागढुंगा सुरुङमार्ग हुँदै काठमाडौं आउने कार, भ्यान, जीपहरूले ६५ रुपैयाँ तिर्नुपर्ने छ भने बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

त्यसैगरी, हेभी सवारी साधनले काठमाडौं आउँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।

सुरुङमा कस्ता गाडी गुड्न पाउँछन् ?

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालन सम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङमार्गमा सबैखाले सवारी साधन गुडाउन पाइँदैन ।

निर्देशिका अनुसार सुरुङ भित्र दुईपाँग्रे (मोटरसाइकल/स्कुटर), तीनपाँग्रे (ट्याम्पु, अटोरिक्सा), डिजेल, पेट्रोल लगायत पेट्रेलियम पद्धार्थ बोकेका ट्यांकरलाई प्रवेश निषेध गरिएको छ । त्यस्तै, सुरक्षा निकायका बाहेक हातहतियार बोकेका, विस्फोटक पदार्थ बोकेका, दुर्गन्धित गन्हाउने, कुहिएका सवारी साधन बोकेका, नन मोटराइज्ड सवारी साधन पनि सुरुङ भित्र गुडाउन पाइँदैन ।

सुरुङमार्ग भित्र १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.२५ मिटर उचाइभन्दा ठूला सवारीसाधन चलाउन नपाउने निर्देशिकामा उल्लेख छ ।

माथि उल्लेखित बाहेक अरू सबैखाले कार, जीप, भ्यान, माइक्रोबस, बस, ट्रक, टिपर, लरी लगायत सवारी साधन सुरुङमार्गमा चलाउन पाइन्छ । सुरुङमार्गमा गुड्ने सवारी साधनको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ ।

कति सकियो काम ?

देशकै पहिलो सुरुङमार्ग आगामी पुसदेखि संचालनमा ल्याउने तयारी छ । हालसम्म आयोजनाको ९२ प्रतिशत बढी काम सम्पन्न भइसकेको छ ।

आयोजनाको मुख्य सुरुङमार्ग भित्र भेन्टिलेसन, फायर फाइटिङ, टेलिफोन, सेफ्टी, सीसीटीभ, बिजुली बत्ती जडान सम्पन्न भएसँगै प्राविधिक परीक्षण भइसकेको छ ।

त्यस्तै, आयोजना अन्तर्गत ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, १ ओभर पास र ३ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । बलम्बुमा १२८ मिटर लामो फ्लाइओभर ओभर निर्माण पनि सम्पन्न भइसकेको छ ।

आयोजनाको २ हजार ६८८ मिटर लामो मुख्य सुरुङ २०८१ वैशाख ३ गते र २ हजार ५५७ मिटर लामो अपतकाली सुरुङ २०८० साउन २२ गते ब्रेक थ्रु गरिएको थियो ।

त्यस्तै, ९ हजार ९५६.११ मिटर एप्रोच, र्याम्प र अन्य सडक निर्माण गर्नुपर्नेमा हालसम्म ८ हजार मिटर सम्पन्न भइसकेको छ । यो सुरुङ जापानी कम्पनी हाज्मारआन्दो जेभीले निर्माण गरिरहेको हो ।

निर्माण अन्तिम चरणमा पुगेसँगै आयोजनाले सुरुङमार्ग संचालनका लागि ग्लोबल टेन्डर आह्वान गर्ने तयारी छ । नेपालसँग सुरुङमार्ग संचालनको अनुभव नभएकाले अन्तर्राष्ट्रियस्तरको सर्भिस प्रोभाइडर कम्पनी ल्याइने छ । टेन्डर आह्वानका लागि कार्यविधि समेत बनिसकेको छ ।


Back_to_top