बन्द भयो हुन्डाईको उत्कृष्ट कार, यस्तो छ कारण

काठमाडौं । हुन्डाईले सन् २०१६ बाट अन्तर्राष्ट्रिय बजारमा ल्याएको आयोनीक मोडल बन्द गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आयोनीक पेट्रोल, प्लगइन हाइब्रिड र पूर्ण इलेक्ट्रीक भर्सनमा उपलब्ध रहेको थियो । नेपालमा भने सन् २०१८ मा पहिलोपटक पूर्ण इलेक्ट्रीक मोडल आएको थियो ।

हुन्डाई मोटर्सले आफ्नो इलेक्ट्रीक कारको सब ब्राण्ड नेम नै आयोनीक राखेको कारण यसको उत्पादन बन्द गरेको अनुमान गर्न सकिन्छ । नेपाली बजारमा उपलब्ध आयोनीक सेडान कार थियो । सेडान कारको बजार घट्दो क्रममा रहेको र आयोनीक ५ र कोना जस्ता इलेक्ट्रीक मोडलको कारण आयोनीकको आयात बन्द भइसकेको थियो ।

हुन्डाई मोटर्सको नेपालको आधिकारीक बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल्सले अब आयोनीक सेडान नेपाल नआउने जानकारी दिइसकेको छ । हुन्डाईले सुरुमा निकै सानो २८ किलोवाट आवरको ब्याट्री दिएर ल्याएको थियो । सन् २०१९ मा कम्पनीले यसको फेसलिफ्ट मोडल ल्याएर ब्याट्री साइज बढाएर ३८.३ किलोवाट आवर बनाएको थियो ।

व्याट्री साइज बढाएसँगै यसको रेन्ज करिब १०० किलोमिटरले बढेको थियो । एक पटकको फुल चार्जमा ३१० किलोमिटर रेन्ज दिने आयोनीक नेपाली सडकमा केही यूनिट गुढिरहेको छ । निकै आकर्षक डिजाइनमा तयार भएको यो कार १०० किलोवाटको मोटर र १०० किलोवाटसम्मको फास्ट चार्जर सर्पोट गर्न सक्ने थियो ।

यसमा दिइएको व्याट्रीलाई १०० किलोवाटको फास्ट चार्जरबाट चार्जगर्दा ८० प्रतिशत चार्जगर्न ५४ मिनेट मात्र लाग्ने थियो । तर, ७ किलोवाटको चार्जरले घरमै चार्जगर्दा ८० प्रतिशत चार्ज गर्न ६ घन्टा ५ मिनेट लाग्ने छ ।

१६ इन्चको अलोय ह्वील, सबै लाइटहरु एलइडी प्रयोग गरिएको कारमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस फोन चार्जिङ, डिउल जोन क्लाइमेट कन्ट्रोल, प्रिमियम सिट, भ्यान्टीलेटेड, हिटेड र इलेक्ट्रीकल्ली एड्जस्टेवल सिट, सबैतिर पार्किङ सेन्सर जस्ता फिचर दिइएको थियो ।


Back_to_top