पेट्रोल पम्पमा चार्जिङ स्टेशन बनाउने सरकारको रणनीति, निश्चित दूरी तोकिने

काठमाडौं । सरकारले विद्युत् खपत बढाउन हरेक पेट्रोल पम्पहरूमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन बनाउने नीति अपनाउने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’मार्फत यस्तो लक्ष्य राखेको हो ।

सरकारले पेट्रोल पम्पहरूमा चार्जिङ स्टेशन र सार्वजनिक सवारी साधनहरू समेत विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने नीति लिइएको छ । त्यसका लागि देशभर व्यापक रूपमा चार्जिङ स्टेशन निर्माण गर्ने नीति अगाडि सारिएको छ ।

चार्जिङ स्टेसन निर्माणमा नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रलाई समेत सक्रिय बनाउने योजना तय गरिएको छ । रणानीति अनुसार उक्त कार्यको संयोजन विद्युत् प्राधिकरण, अन्य आवश्यक प्रबन्ध भौतिक पूर्वाधार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्नेछ ।

देशभर निश्चित दूरीमा चार्जिङ स्टेसन निर्माण गरेपछि ईभीको प्रयोगमा थप बढोत्तरी हुनेछ । देशव्यापी चार्जिङ स्टेसन निर्माण गर्न आव २०८५/८६ सम्म पूरा गर्ने समयसीमा तय गरिएको छ ।

चार्जिङ स्टेशनको विस्तारका साथ साथै प्रमुख शहरहरूमा विद्युतीय बस र ट्रली बस संचालन गरी आन्तरिक रुपमा विद्युत खपत बढाउने नीति लिइएको छ ।

त्यसैगरी, सरकारले विद्युत खपत बढाउन इन्डक्सन चुल्होको प्रयोग बढाउने, कोइला बोयलरलाई पनि विद्युतीय बोयलर र भट्टीले प्रतिस्थापन गर्ने, शतप्रतिशत विद्युतीय सिँचाइ पम्पमा परिणत गर्ने,रासायनिक मल उद्योग र डेटा सेन्टर स्थापना गर्ने लगायत नीति लिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभर कुल जडित क्षमता ४२९६ मेगावाट बराबर पुगेको छ । चालु आवको अन्त्यसम्म उत्पादन ४ हजार ५०० मेगावाट पुग्नेछ ।


Back_to_top