टीभीएसले प्रिमियम सवारी उत्पादन गर्न ३५०० करोड भारु लगानी थप्ने

काठमाडौं । भारतीय दुईपाँग्रे साधन निर्माता टीभीएस मोटरले आफ्नो प्रिमियम मोटरसाइकल र विद्युतीय स्कुटर लाइनअपका लागि थप ३ हजार ५०० करोड भारु लगानी थप्ने भएको छ ।

टीभीएसले बजारको बढ्दो मागलाई आधार बनाउँदै आर्थिक वर्ष २०२७ सम्ममा ३ हजार ५०० करोड भारतीय रुपैयाँ बराबरको लगानी बढाउने योजना बनाएको हो ।

कम्पनीले विशेषगरी ब्रिटिस मोटरसाइकल ब्राण्ड नोर्टन, टीभीएस र इलेक्ट्रीक सेग्मेन्टको विकासलाई तीव्र बनाउन लक्ष्यका साथ नयाँ योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत कम्पनीले मुख्य रूपमा नोर्टन, टीभीएस अपाचे सिरिज र आइक्युब इलेक्ट्रीकमा उल्लेखनीय रूपमा विस्तार गर्ने भएको हो ।

टीभीएसले सन् २०२० मा आर्थिक संकटमा परेको नोर्टन ब्राण्डमा लगानी गरेको थियो । त्यसयता भारतीय बजारमा नोर्टन ब्राण्डको निकै चर्चा पनि भइरहेको छ । अब भने कम्पनीले यसलाई व्यावसायिक रूपमा नयाँ उचाइमा लैजाने तयारी गरेको देखिन्छ ।

हाल नोर्टनका विभिन्न नयाँ मोटरसाइकल मोडल विकासको चरणमा रहेका छन् । केही मोडलको भारतको होसुरस्थित प्लाण्टमा उत्पादन भइरहेको छ । इन्जिनियरिङको काम र केही विशेष मोडलको उत्पालदन भने बेलायतको सोलिहुल कारखानाबाट भइरहेको छ ।

कम्पनीको नयाँ लगानी योजनामा करिब २ हजार करोड रुपैयाँ नयाँ उत्पादन विकास, अत्याधुनिक इन्जिनियरिङ र प्रविधि अनुसन्धानमा खर्च गरिनेछ । त्यस्तै, १ हजार करोड उत्पादन पूर्वाधार विस्तार र नयाँ उत्पादन क्षमता थप्न विनियोजन गरिएको छ । बाँकी रकम अनुसन्धान तथा परीक्षण केन्द्र सुदृढीकरण र प्रविधि क्षमता विस्तारमा प्रयोग हुनेछ ।

उत्पादन क्षमतामा पनि टीभीएसले आक्रामक विस्तार योजना अघि सारेको छ । आगामी १२ महिनाभित्र वार्षिक उत्पादन क्षमतामा झण्डै १५ लाख युनिट थप्ने लक्ष्य कम्पनीले बनाएको छ । यससँगै टीभीएसको कुल वार्षिक उत्पादन क्षमता करिब ८३ लाख युनिट पुग्नेछ ।

कम्पनीले हालै विश्वव्यापी रूपमा वार्षिक ५९ लाख युनिट बिक्री पार गरिसकेको छ । घरेलु बजारसँगै निर्यात बजारमा मागस्थिर रहँदा भविष्यको लक्ष्य पूरा गर्न थप उत्पादन क्षमता आवश्यक भएकाले कम्पनीले लगानी थपेको जनाएको छ ।


Back_to_top