टेस्ट ड्राइभ रिभ्यूः बाहिर जस्तै भित्र पनि सुन्दर ‘ग्राण्ड भिटारा’

काठमाडौं । नेपालका लागि मारुती सुजुकीको आधिकारीक वितरक सीजी मोटोकर्पले गतहप्ता कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ मोडल ग्राण्ड भिटारा लन्च गर्यो । मारुतीले आफ्नो रेगुलर स्मार्ट हाइब्रिड तथा नयाँ इन्टेलीजेन्ट हाइब्रिड टेक्नलोजीसहित दुई इन्जिन अप्सनमा ग्राण्ड भिटारा ल्याएको हो ।

आफ्नो सेग्मेन्टमा पहिलो फोर ह्वील ड्राइभ (अलग्रिप) फङ्सन रहेको ग्राण्ड भिटारा इन्धन किफायती मोडल समेत हो ।

स्मार्ट हाइब्रिड टेक्नलोजीको सहयोगमा अत्याधिक माइलेज दिने दाबी गरिएको यो एसयूभलाई हामीले छोटो टेस्ट ड्राइभ गरेका थियौं । ग्राण्ड भिटाराको अल्फा फोर ह्वील ड्राइभ स्मार्ट हाइब्रिड म्यानुअललाई नयाँ बानेश्वरदेखि दक्षिणकालीको हात्तीवन रिसोर्टसम्म चलाएर परीक्षण गरेका थियौं । यो रुटमा सिटी ड्राइभका साथै केही अफरोड ड्राइभ समेत बन्यो ।

मारुती सुजुकीले भारतमा बनाएको पहिलो कम्प्याक्ट एसयूभी निकै आकर्षक देखिएको छ । ग्राण्ड भिटाराको बाहिरी आवरणमा धेरै स्थानमा क्रोम फिनिसिङ दिइएको छ ।

सुजुकीले आफ्नो पहिलो भारतीय कम्प्याक्ट मोडलमा दिएको रुफरेल र पानारोमिक सनरुफले आधुनिक स्पोर्टी एसयूभीको अनुभव गराउँछ ।

गाडी बाहिरबाट जति राम्रो देखिएको छ भित्र पनि त्यति नै आकर्षक फिचर लोडेड छ । यो एसयूभीमा ड्युल कलर ड्यासबोर्ड र ड्युल कलरकै सिट कभरको कम्बिनेसन पाउन सकिन्छ । कलर कम्बीनेशनको कारण यसको इन्टेरियरले प्रिमियम अनुभूत गराउँछ । फोर वे एड्जस्टेबल ड्राइभर सिटबाट सबैतिरको राम्रो भिजिबिलिटी देखिन्छ ।

ड्यासबोर्डको बीचमा रहेको सेग्मेन्ट फस्ट ९ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट, सेमी डिजिटल इन्स्ट्रुमेन्टल क्लष्टर, अटोडिमिङ आइआरभीएमका साथै ड्युल स्लाइड विशाल प्यानारोमिक सनरुफ रहेको छ ।

यसमा रहेको ३६० डिग्री क्यामराको सहयोगमा चारैतीरको बाटो स्क्रीनमै हेर्दै साँघुरो स्थानमा पनि पार्क गर्न तथा सानो बाटोमा समेत चलाउन सकिन्छ ।

यो एसयूभीमा मारुती सुजुकीको के १५ सिरिजको १.५ लिटर थ्री सिलीण्डर पेट्रोल इन्जिन रहेको छ । सहरी क्षेत्रमा यसलाई चलाउँदा निकै कम्फर्ट फिल भएको थियो । तीन सिलिण्डरको इन्जिन भएता पनि सुजुकीको रिफाइन्ड इन्जिन भएकाले कुनै पनि आवाज क्याबिनमा आएको थिएन । टिल्ट एड्जस्टेबल स्टेरिङ ह्वील रहेको यो एसयूभीलाई टर्न गर्न निकै सजिलो रहेको मैले पाए ।

मारुती सुजुकीको स्मार्ट हाइब्रिड टेक्नलोजीमा एड्भान्स ड्युल ब्याट्री सिस्टम रहेको छ । गाडी ओरालोमा गुड्दा वा ब्रेक लगाउँदा इलेक्ट्रीक मोटरले ब्याट्रीहरू आफैं रिचार्ज गर्छ ।

यी ब्याट्रीको सहयोगले फास्ट एक्सिलरेसन गर्दा इलेक्ट्रीक मोटरको सहयोगमा गाडीलाई थप पावर दिन्छ । साथै गाडीको आइडल स्टार्ट स्टप फङ्सन समेत संचालन गर्छ ।

जाममा रोकिनु पर्दा अटोमेटिक रूपमा गाडीको इन्जिन बन्द हुन्छ भने अगाडि बढाउनु पर्दा क्लच थिच्ने बित्तिकै गाडी आफैं स्टार्ट हुन्छ । स्टार्ट बन्द भएको अवस्थामा एसी म्युजिक सिस्टम लाइटहरू भने ब्याट्री पावरबाट संचालन भइरहेको हुन्छ ।

यसरी प्रत्येक स्टपमा इन्जिन बन्द भई धेरै इन्धनको बचत हुने भएकाले यो स्मार्ट हाइब्रिड एसयूभीले १९.३८ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीले दाबी गरेको छ । छोटो टेस्ट ड्राइभ भएकाले माइलेजको बारेमा हामीले यति नै दिन्छ भनेर एकिन गर्न भने सकेनौं ।

नयाँबानेश्वरदेखि हात्तीवनको तलसम्मको पिचरोडको यात्रामा त एकदमै आनन्द भएको थियो । हात्तीवन रिसोर्टमा जानका लागि कच्चीबाटो एकदमै ठाडो उकालो उक्लिनु पर्छ ।

यो उकालोमा धेरै गाडीहरू नउक्लने भएकाले रिसोर्टले तलै पार्किङ स्थलको व्यवस्था गरेको छ । तर, भिटारा ब्रेजामा भएको अलग्रिप फङ्सनको सहायताले हामी सजिलै माथि उक्लियौं ।

अझ भनौं, हामीले कुनै पनि स्थानमा फोर ह्वील लकनै गर्नु पर्ने आवस्था आएन ।

सुजुकी भिटारा ब्रेजामा चार फरक तरिकाले संचालन गर्न सकिने अलग्रिप (फोरह्वील) ड्राइभ फङ्सन रहेको छ । पहिलो, अटोमेटिक फोर ह्वील जुन गाडीले आवश्यक पर्दा इन्गेज गर्छ भने आवश्यक नपर्दा डिसइन्गेज गर्छ ।

दोस्रो, स्नोमोड रहेको छ भने तेस्रो स्पोर्टस मोड हो । चौथो भने अलग्रिप लक फङ्सन हो, जुन एकदमै हिलो वा लामो समय खराब बाटोमा चलाइरहनु पर्दा काम लाग्छ ।

सुरक्षाको लागि ६ वटा एयरब्याग, एन्टीलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकिङ सिस्टम, इलेक्ट्रिोनिक स्टेबिलीटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, डाइनामिक गाइडलाइन तथा सेन्सरसहितको रिभर्स पार्किङ क्यामराले सुुसज्जित यो एसयूभी एक पर्फेक्ट स्मार्ट कम्प्याक्ट एसयूभी हो ।

सहरी क्षेत्रमा अत्याधुनिक फिचरहरूसहितको कम्फर्टेबल ड्राइभ तथा निरन्तर अफरोडमा समेत ड्राइभ गर्नुपर्नेका लागि यो स्मार्ट एसयूभी एक सही छनोट हुन सक्छ ।

Also Read:  ग्राण्ड भिटारा ९ र ब्रेजा ६ भेरियन्टमा किन्न पाइने, तीन लाख नगद छुट


Back_to_top