२ महिनाभित्र गाडी गुडाउने गरी यसरी हुँदैछ ग्वार्को फ्लाइओभरको काम (फोटोफिचर)

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माणाधीन नेपालकै पहिलो फ्लाइओभर आगामी असार मसान्त भित्रै सम्पन्न गर्नेगरी तीव्र गतिमा काम भइरहको छ ।

ठेक्का सम्झौता अनुसार फ्लाइओभर निर्माण गत फागुनमै सम्पन्न हुनुपर्थ्यो । तर, डिजाइनमा त्रुटि भेटिएपछि पुनः डिजाइन गरी अहिले धमाधम काम भइरहेको हो ।

फ्लाइओभर निर्माण कम्पनी आशिष समानान्तर रेलिगेयर जेभीका अनुसार हालसम्म आयोजनाको समग्रमा ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । अबको २ महिनाभित्र बाँकी सबै काम सक्ने लक्ष्य राखिएको कम्पनीका प्रोजेक्ट म्यानेजर कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

‘ब्रिजको ९० प्रतिशत काम सकिएको छ । अब १ महिना भित्र पूरै सकिन्छ । ब्रिजमा जान रोडको काम ५० प्रतिशत सकिएको छ । सबै गरेर ७० प्रतिशत काम भएको छ । बाँकी ३० प्रतिशतकाम अबको २ महिना भित्र सक्ने योजना छ,’ उनले भने ।

वर्षाले बाधा नगरे यो काम असार भित्र सकिने प्रोजेक्ट मेनेजर श्रेष्ठको भनाइ छ । अहिले स्लोप बनाउने, पर्खाल लगाउने, ढलान गर्ने, फिनिसिङ गर्ने लगायतका काम बाँकी रहेको उनी बताउँछन् ।

यस आयोजना निर्माणको काम २०८० फागुन १२ गतेभित्र सकिसक्नु पर्ने थियो । तर, उक्त अवधिमा काम नसकिएपछि १० महिना म्याद थप गर्न भनेका छौं,’ श्रेष्ठले भने ।

फ्लाइओभरको डिजाइनमा त्रुटि हुँदा केही समय मुख्य निर्माणको काम रोकिएको थियो । फ्लाइओभर निर्माण स्थलको माटो कमजोर भएका कारण डिजाइन नै परिवर्तन गर्नु परेको हो ।

उपत्यकाको जाम न्यूनीकरण गर्न भन्दै २०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको फ्लाइओभर १६ महिना भित्र निर्माण सक्ने लक्ष्य राखिएको थियो ।

ग्वार्को चोकबाट बीएण्डबी अस्पतालतर्फ १८५ मिटर लामो स्लोप बनाइँदै छ । त्यस्तै बालकुमारीतर्फबाट ३२० मिटर लामो अर्को स्लोप बन्नेछ । बीचमा ३५ मिटर लामो ओभरहेड ब्रिज बन्छ ।


Back_to_top