काठमाडौं । युवा पुस्तामा राइडिङ कल्चर निकै बलियोसँग स्थापित हुँदैछ । त्यसैले नयाँ पर्फमेन्स मोटरसाइकल ल्याउने ब्राण्डहरुको प्राथमिकतामा राइडिङ कम्यूनिटी निर्माण गरेर ‘राइड’हरु आयोजना गर्नु पहिलो सर्त बन्न थालेको छ ।
पर्यटन ब्यवसायमा अब्बल मानिएको पोखराको लेकसाइडमा अन्तर्राष्ट्रिय टूरर ब्राण्ड ‘हार्टस् एण्ड टियर्स’ नामक कम्पनीले विभिन्न टुर प्याकेज दिदै आएको छ । कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुरहरु आयोजना गर्दै आएको छ ।
विशेषगरी १ देखि ४ जना वा ५ देखि ८ जनाको ग्रुप बनाएर कम्पनीले राइड आयोजना गर्दै आएको यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् । उनिहरुका अनुसार अधिकांश बुकिङ अनलाइन मार्फत हुने भएकाले टुर प्याकेजका विषयमा सम्पूर्ण जानकारी वेभ साइटमा नै राखिएको छ ।
‘हाम्रो सम्पूर्ण सेवा वेभ साइटमा राखिएको छ । त्यहाँ उल्लेख भएका सर्त र मूल्य ग्राहकले तिर्नुपर्छ’, शोरुममा भेटिएका एक कर्मचारीले भने ।
उनका अनुसार कम्पनीले अपर मुस्ताङ, मनाङ, चितवन, बर्दिया, तिब्बत लगायत अन्तर्राष्ट्रिय राइड पनि आयोजना गर्दै आएको छ । कम्पनी २०२४ को लागि राइडरहरुले तिर्नु पर्ने मूल्यसूची सार्वजनिक गरेको छ ।

यदि, पोखरादेखि अपर मुस्ताङको ८ दिन लामो राइडमा जान चाहने ब्यक्तिहरु समूह बनाएर आएको खण्डमा समूहमा रहेका सदस्यको आधारमा खर्च लाग्नेछ । यदि १ देखि ४ जना मात्रै राइडर छन् भने उनिहरुले प्रति राइडर २ हजार ७८० अमेरिकी डलर तिर्नुपर्छ ।
त्यसैगरी ५ देखि ८ जनासम्म छन् भने २ हजार ६५० अमेरिकी डलर तिर्दा पुग्छ । यति रकम तिर्ने राइडरलाई कम्पनीले रोयल इनफिल्ड हिमालयन वा २५० सीसी इन्डुरो मोटरसाइकल दिनेछ ।
साथै, पेट्रोल, सपोर्ट जीप, राइडिङ गियर, टीआइएमएस र एक्याप पर्मिट, खाना, गाइड र मेकानिक्सको ब्यवस्था कम्पनीले गर्नेछ । कम्पनीले आयोजना गर्ने यस्ता राइडमा नेपाली तथा विदेशी राइडरले सहभागिता जनाउन सक्नेछन् ।
बिदेशी राइडरहरु पनि सहभागि हुने भएकोले अन्तर्राष्ट्रिय र डोमेस्टीक यात्रामा हवाइ टिकेट राइडर आफैँ खरिद गर्नुपर्छ । साथै भिसा, ट्राभल इन्स्योरेन्स पनि राइडरले नै ब्यवस्था गर्नुपर्छ ।
यात्राको क्रममा राती बास बस्दा अल्कोहल, टिप्स र ब्यक्तिगत खर्चहरु राइडरले गर्नु पर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले मार्च, अप्रिल र मे महिनामा हुने राइडहरु सोल्ड आउट भएको जनाएको छ । अब अक्टोबर र नोभेम्बरमा हुने राइडको मात्रै सिट उपलब्ध रहेको छ ।

