काठमाडौं । बजारमा अत्याधिक चासो र चर्चा हुने केही कार मोडल नेपाली बजारमा उपलब्ध भएका छैनन् । नेपालमा आफ्नो लामो प्रोडक्ट लाइनअप बिक्रीको लागि उपलब्ध गराएका ब्राण्डले नै चल्तीको सेग्मेन्टका कार नेपाल नल्याएकोले पनि धेरैले सोधखोज गरेको हुनुपर्छ ।
नेपालमा सबैभन्दा पहिला विद्युतीय कार ल्याएर बिक्री गरेको ब्राण्ड महिन्द्राले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी अहिलेसम्म नेपाल ल्याएको छैन । भारतमा बिक्री सुरु भएको दुई वर्ष भएपनि अहिलेसम्म एक्सयूभी ४०० इलेक्ट्रीक एसयूभी कम्पनीले नेपाली बजारमा ल्याएको छैन ।
अर्को, बजारमा धेरै ग्राहकले कहिले आउँछ भनेर सोध्ने इलेक्ट्रीक कार बीवाइडी सिगुल हो । बीवाइडीले विगत दुई वर्षमा तीन नयाँ मोडल बजारमा ल्याएर धेरेको मन जित्न सफल भएको छ । यस्तोमा कम्पनीको सर्वाधिक सफल ह्याचव्याक कहिले नेपाल आउँछ भनेर सोधखोज हुनु स्वभाविक हो ।
महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले एक्सयूभी ४०० नेपाल ल्याउने प्रसंग बेलाबखत चलाई रहेको भएपनि अझै कुन मितिमा आउँछ एकिन भएको छ । कम्पनीले एक्सयूभी ४०० मा थुप्रै फिचरहरु अपग्रेड गरिरहेको छ । त्यसैले पनि नेपाल ल्याउन समय लागेको हुनसक्छ ।
बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले सिगुल ह्याचव्याक आउने बारेमा आधिकारीक जानकारी दिएको छैन । तर, शोरुममा पुग्ने ग्राहकहरुले कहिले आउँछ भनेर सोधखोज गर्दा तयारी हुँदैछ भन्ने उत्तर दिइरहेको सुनिन्छ । कम्पनीले चीनबाट सिगुलको निर्यात सुरु गरेको कारण चाँडै नेपाल पनि आउने अनुमान भने गर्न सकिन्छ ।
महिन्द्रा एक्सयूभी ४००
महिन्द्रा एक्सयूभी ४०० भारतमा टाटा नेक्ससँग सिधा प्रतिस्पर्धा गरिरहेको मोडल हो । थुप्रै आधुनिक फिचर दिइएको इलेक्ट्रीक एसयूभीमा भेन्टिलेटेड सिट, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, फग लाइट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र त्यहि साइजको डिजिटल क्लष्टर पाउन सकिन्छ । साथै, वायरलेस चार्जिङ प्याड, रियर एसी भेन्ट, ड्युल जोन क्लाइमेट कन्ट्रोल, पुस बटम स्टार्ट स्टप, कीलेस इन्ट्री, टायर प्रेसर मोनिटरिङ सिस्टम दिइएको छ ।

महिन्द्राले भारतमा दुई भेरियन्टमा एक्सयूभी ४०० बिक्री गर्दै आएको छ । जसमा ईसी प्रो र ईएल प्रो नाम दिइएको छ । ३४.५ र ३९.४ किलोवाट आवरका दुई फरक ब्याट्री साइजमा यसलाई उपलब्ध गराएको छ ।
एक्सयूभी ४०० मा फन (इको), फास्ट (नर्मल) र फेयरलेस (स्पोर्टस) गरी तीनवटा ड्राइभिङ मोड पाउन सकिन्छ ।
बीवाइडी सिगल
बीवाइडी सिगल कम्पनीको छोटो ह्याचव्याक कार हो । यसको लम्बाई ३७८० एमएम छ । सिगलमा ३० किलोवाट आवर तथा ३८ किलोकिलोवाट आवर गरी दुई साइजको एलएफपी ब्याट्री प्याक छ ।

सिगलको इन्टेरियरमा ५ इन्चको इन्टुमेन्ट क्लस्टर र १२.८ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन गरी २ वटा स्क्रीन छन् । फ्ल्याट बटम स्टेरिङ ह्वील, वायरलेस चार्जिङप्याड, दुई वटा कप होल्डर, स्टेरिङ माउण्टेड कन्ट्रोल स्वीच, एयर कण्डिसन जस्ता क्याबिन फिचर छन् ।
सिगलमा ७५ हर्सपावर जेनेरेट गर्ने ५५ किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यसको टप स्पीड १३० किलोमिटर प्रतिघण्टाको छ ।

