मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेलमेट अनिवार्य, यी उमेरका व्यक्ति चढाउन नपाइने

काठमाडौं । अब गण्डकी प्रदेशमा राइड सेयरिङको रुपमा प्रयोग हुने दुईपाँग्रे सवारी साधनको पछाडि बस्ने यात्रुले अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने भएको छ ।

प्रदेश सरकारले पारित गरेको ‘सवारी तथा यातायात व्यवस्था नियमावली, २०८०’ मा यस्तो व्यवस्था गरिएको हो ।

यात्रुका लागि राइड सेयरिङ सेवा प्रदायक आफैंले गुणस्तरीय हेलमेटको व्यवस्था गर्नुपर्ने नियमावलीमा उल्लेख गरिएको छ ।

त्यस्तै, राइड सेयरिङ सेवा दिने दुईपाङग्रे सवारी साधनले १० वर्ष उमेर नपुगेका र ८० वर्ष नाघेका वृद्धवृद्धालाई सवारीमा यात्रीको रूपमा चढाउन नपाउने व्यवस्था गरिएको छ ।

त्यसैगरी, राइड सेयरिङ सेवा प्रदान गर्ने कम्पनी वा संस्थाले प्रत्येक सवारीको हकमा सवारी बीमा, चालक तथा यात्री बीमा र तेस्रो पक्ष बीमा गराएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

बीमा कुनै चालक वा सवारी एउटा राइड सेयरिङ सेवा प्रदान गर्ने कम्पनी वा संस्था छाडी अर्को राइड सेयरिङ सेवा प्रदान गर्ने कम्पनी वा संस्था आबद्ध भएमा समेत मान्य हुने उल्लेख छ ।

सवारी चालक अनुमतिपत्र प्राप्त गरी कम्तीमा १८ वर्ष उमेर नपुगेको र एक वर्षको परीक्षणकाल पूरा नगरेको व्यक्तिले राइड सेयरिङ सेवा दिन पाउने छैनन् ।


Back_to_top