काठमाडौं । नेपाल जनरल मार्केटिङले हिरोका मोटरसाइकल तथा स्कुटरमा ५ वर्षको लागि वारेन्टी दिएपनि अहिले वारेन्टी दिन नसक्ने घोषणा गरेपछि नयाँ डिलर सिजी मोटर्स अगाडि आएको छ । सिजी मोटर्सले एक बिज्ञप्ती जारी गर्दै ग्राहकलाई चिन्ता नलिन भनेको हो ।
सिजी मोटर्सले हिरोका बारेमा बजारमा अन्योलता आएको भन्दै आफुहरु आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको बताएको छ । विगत केही समयदेखि हिरोको आधिकारिक बिक्रेताको बारेमा अन्योल कायम रहदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो । अ
‘हामी मोटरसाइकल र स्कुटर बिक्रीमात्रै गर्दैनौं, ग्राहक पूर्ण सन्तुष्ट हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिने छौं’ सीजी मोटर्स जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
हिरोको आधिकारिक विक्रेताको जिम्मेवारी पाए लगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको सीजी मोटर्सले जनाएको छ ।
‘हामी उत्कृष्ट थ्रीएस सेवा दिने प्रतिवद्धता जाहेर गर्छौं । हिरोका सर्भिसलाई उपभोक्ताले नयाँ ढंगले फिल गर्ने गरी उत्कृष्ट बनाउनेछौँ । पार्टपुर्जा सहज उपलब्ध गराउन र आफ्टर सेल्स सर्भिस चुस्त बनाउने प्रक्रिया अगाडि बढिसकेको छ’, कम्पनीले भनेको छ ।
मार्चदेखि हिरोका सर्भिस सेन्टरहरुमा पार्टपुर्जाहरु सहज रुपमा उपलब्ध हुने सिजी मोटर्सले जनाएको छ । यसका लागि आफ्नै वेयर हाउस समेत तयार भइरहेको छ । पार्टपुर्जा आयात गर्नका लागि प्रतितपत्र (एलसी) खोलिसकेको कम्पनीको भनाइ छ ।
‘पछिल्लो केही समयदेखि पार्टपुर्जा आयात नभएकोले बजारमा अभाव देखिन सक्छ, तर यस्तो अभाव धेरै समय रहने छैन’ सीजी मोटर्सका सेल्स एण्ड अपरेशन जीएम प्रकाश देवकोटाले भने ।
‘सुपथ मूल्यमा पार्टपुर्जाको सहज उपलब्धता र आफ्टर सेल्स सर्भिस बलियो नभएसम्म मार्केट लिडर बन्न सकिदैन भन्ने हामीलाई राम्रोसँग थाहा छ, ग्राहकलाई सन्तुष्ट बनाउनु हाम्रो जिम्मेवारी हो’, देबकेटाको भनाइ छ ।
सेल्स, सर्भिस, स्पेयर पार्ट्ससँगै वारेन्टीको कुरा पनि उत्तिकै महत्वपूर्ण छ । हामीले अबदेखि वारेन्टीलाई सुनिश्चित गर्नेछौँ । सीजीले हिरो ब्रान्ड लिनुअघि वारेन्टीका समस्या भए समाधानका लागि पहल गर्ने कम्पनीले जनाएको छ ।

