टाटा र एमजी बीच इलेक्ट्रीक कारको मूल्य घटाउने प्रतिस्पर्धा

काठमाडौं । विश्वभर इलेक्ट्रीक कारको मूल्य घट्दो क्रममा रहेपनि चीनमा मूल्य घटाउने तिब्र प्रतिस्पर्धा चलिरहेको छ । तर, भारतीय बजारमा पनि यो प्रतिस्पर्धा अहिले आएर सुरु भएको हो ।

भारतको सबैभन्दा ठूलो इलेक्ट्रीक कार उत्पादक टाटा मोटर्सले आफ्नो विद्युतीय मोडलको मूल्य घटाएसँगै अन्य उत्पादक पनि मूल्य घटाउने प्रतिस्पर्धामा उत्रिएका हुन् ।

टाटा मोटर्सले आफ्नो सफल विद्युतीय एसयूभी नेक्सन ईभीको मूल्यमा १ लाख २० हजार भारतीय रुपैयाँसम्म घटाएको छ । त्यस्तै अर्को मोडल टियागो ईभीमा ७० हजारसम्म मूल्य घटाएर प्रतिस्पर्धीलाई चुनौति दिएको हो ।

लिथियम आयोन ब्याट्रीको मूल्यमा भारी गिरावट आएसँगै कार उत्पादकले मूलय घटाउन थालेका हुन् । टाटा प्यासेन्जर कार इलेक्ट्रीक मोवीलीटी डिभिजनका चिफ कमर्सियल अफिसर विवेक श्रीभाल्शाका अनुसार ब्याट्रीको मूल्य घटेकै कारण ग्राहकले फाइदा पाएका हुन् ।

उनका अनुसार ब्याट्रीको मूल्य पूरै ईभीको मूल्यमा प्रभाव पार्ने सबैभन्दा प्रमुख तत्व हो । पछिल्लो समयमा विश्व बजारमा लिथियम आयोन ब्याट्रीको मूल्य घटेसँगै इलेक्ट्रीक कारको पनि मूल्य घटेको हो ।

टाटालाई पछ्याउदै अर्को ईभी कम्पनी एमजीले पनि आफ्नो मिनी कार कोमेटको मूल्य १ लाख रुपैयाँ घटाएको छ । त्यस्तै एमजीले कम्प्याक्ट एसयूभी सेग्मेन्टको ईभी जेडएस मोडलमा पनि नयॉ भेरियन्ट लन्च गर्दै २ लाखसम्म मूल्य घटाएको हो ।

भारतमा एमजीका ईभीको मूल्य घट्नुमा भने ब्याट्रीको मूल्यमा आएको गिरावटसँगै धेरै कम्पोनेन्टहरु लोकलाइज गर्नुलाई लिइएको छ । एमजी मोटर्स इन्डियाका डेपूटी म्यानेजीङ डाइरेक्टर गौरव गुप्ताका अनुसार एमजीले आफ्ना विद्युतीय कार भारतमै उत्पादन गरेसँगै मूल्य घटाउन सहज भएको हो ।

भारतीय बजारका ठूला प्लेयरहरु टाटा र एमजीले आफ्ना ईभीको मूल्य घटाएसँगै महिन्द्रा र सिट्रोनलाई पनि मूल्य घटाउन दबाव परेको छ ।


Back_to_top