हिरो स्प्लेन्डर र होन्डा साइन १०० बीच कडा प्रतिस्पर्धा, यस्ता छन तुलनात्मक भिन्नता

काठमाडौं । होन्डाले केही दिन अगाडि भारतीय बजारमा साइन १०० सार्वजनिक गरेको छ । कम्पनीले देखाएको साइन १०० होन्डाको इन्ट्री लेभल मोडल हो ।

भारतमा यो बाइक सार्वजनिक भएसँगै कम्पनीले आफ्ना प्रतिस्पर्धीलाई कडा चुनौती पेस गरेको छ । १०० सीसी सेग्मेन्टमा साइन १०० ले बजारमा निकै राम्रो प्रभाव पार्ने अनुमान गर्न सकिन्छ ।

भारतीय बजारमा १०० सीसी सेग्मेन्टमा हिरो स्प्लेन्डरको एकाधिकार रहेको छ । हिरोले इन्ट्री लेभल सेग्मेन्टमा ७५ प्रतिशतभन्दा धेरै बजार हिस्सा ओगटेको छ । होन्डाले साइन १०० ल्याएसँगै यो सेग्मेन्टमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

यसैबीच आज हामीले होन्डाको सबैभन्दा सानो साइन १०० र हिरो सप्लेन्डर प्लस बीच रहेका तुलनात्मक भिन्नतालाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

इन्जिन

होन्डा साइन १०० मा ९९.७ सीसी क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ८ ब्रेकहर्स पावर र ८.५ एनएम टर्क उत्पादन गर्छ । यो मोटरसाइकलमा ४ स्पीडको गियरबक्स दिइएको छ ।

त्यसैगरी, हिरो सप्लेन्डर प्लसमा ९७.२ सीसी एयर कुल्ड सिङ्गल सिलिन्डर इन्जिन दिइएको छ। यो इन्जिनले अधिकतम ८.०२ एचपी पावर र ८.०५ एनएम अधिकतम टर्क दिन्छ । यो बाइकमा पनि ४ स्पीडको गियरबक्स दिइएको छ ।

डाइमेन्सन

होन्डा साइन १००मा १२४५ एमएमको ह्विलबेस पाउन सकिन्छ । यसको ग्राउन्ड क्लियरेन्स १६८ एमएम रहेको छ भने सिटको उचाई ७८६ एमएम रहेको छ ।

अर्कोतर्फ हिरो स्प्लेन्डर प्लसमा १२३६ एमएमको ह्विलबेस, ७८५ एमएमको सिटको उचाई र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

तुलनात्मक रुपमा हेर्ने हो भने, साइन १०० आफ्नो प्रतिद्वन्दी भन्दा अलि लामो ह्विलबेस, अग्लो सिट र ग्राउन्ड क्लियरेन्स रहेको छ ।

इन्धन क्षमता

कम्पनीले होन्डा साइन १००मा ९ लिटरको ट्याङ्की दिएको छ । स्प्लेन्डर प्लसमा भने ९.८ लिटरको इन्धन ट्याङ्की पाउन सकिन्छ । होन्डा साइन १०० को माइलेज ६५ किलोमिटर माइलेज दिने अनुमान गरिएको छ भने होन्डा स्प्लेन्डर प्लसले प्रतिलिटर ७० किलोमिटर माइलेज दिन कम्पनीको दावी छ ।

फिचर

होन्डा साइन १०० मा सेमी डिजिटल कन्सोल, हेलोजन हेडलाइट, एनालग स्पीडोमिटर, साइड स्ट्यान्ड इन्जिन किल जस्ता फिचरहरू छन् । स्प्लेन्डर प्लसमा भने हाई टेम्परेचर कन्ट्रोल, एनालग ट्रीपमिटर, एनालग ओडोमिटर, एनालग स्पिडोमिटर, इन्टिग्रेटेड ब्रेकिङ सिस्टम जस्ता फिचर्स समावेश छन् ।

मूल्य

मूल्यको कुरा गर्नुपर्दा निकट भविष्यमा नै नेपाल आउन सक्ने साइन १०० को भारतमा मूल्य ६४ हजार ९०० भारतीय रुपैयाँ ९एक्स शोरुम० निर्धारण गरिएको छ ।

त्यस्तै, हिरो स्प्लेन्डर प्लसको मूल्य भने सुरुवाती ७४ हजार ४२० देखि ७४ हजार ७१० रुपैयाँ भारतीय मूल्य (एक्स शोरुम) निर्धारण गरिएको छ ।


Back_to_top