काठमाडौं । केही समय अघि मात्र सार्वजनिक भएको हिरो एक्सपल्स २०० फोर भीको उच्च माग रहेको छ । नेपालमा सार्वजनिक भएको हप्ता नै सोल्ड आउट भएको मोटरसाइकल पुनः दोस्रो लट बजारमा आएको हो ।
कम्पनीले नयाँ लटमा आएका मोटरसाइकलहरु बुकिङ गरेर बसेका ग्राहकहरुलाई डेलिभरि दिन सुरु गरेको जनाएको छ । कम्पनी स्रोतका अनुसार रातो-कालो र निलो-कालो अप्सनमा मात्र एक्सपल्स २०० फोर भी उपलब्ध रहेको छ ।
आयातमा समस्या हुँदा एक्सपल्स २०० फोेर भीको डेलिभरीमा समस्या आएको कम्पनीको भनाई छ । हाल ग्राहकले सेतो-निलो कलरको मोटरसाइकल भने पाउने छैनन् । कम्पनी स्रोतका अनुसार चाँडै नै ग्राहकको माग अनुसार एक्सपल्स २०० फोर भी उपलब्ध हुनेछ ।
के छ फोर भीमा ?
एक्सपल्स २०० फोर भी भन्ने वित्तिकै मोटरसाइकलमा प्रयोग भएको सिलिण्डरमा ४ वटा भल्भको प्रयोग भएको बुझ्न सकिन्छ । यसको मतलव रेगुलर मोडलको तुलनामा थप रिफाइन्ड इन्जिन यसमा प्रयोग भएको छ भन्ने हो । नयाँ फोर भी मोडलले पहिलेको भन्दा १.०२ पीएस पावर र ०.९ एनएम टर्क बढी प्रदान गर्छ ।
एक्सपल्स २०० फोर भीमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ । हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ, अब पहिले जस्तो इन्जिन तात्ने समस्या आउने छैन ।
रेगुलर मोडलको तुलनामा फोर भी निकै आरामदायी रहेको छ । यसको सिट हाइट २ एमएमले बढाइएको छ । साथै, सिटलाई पनि परिमार्जन गरिएको छ ।
हिरोले एक्सपल्समा दिइएको स्टार्ट र किल स्वीचलाई अपग्रेड गरेको छ । साथै, रेगुलर मोडलको तुलनामा धेरै प्रकाश दिने एलइडी हेडलाइट दिएको छ । नयाँ हेडलाइट सेटअपले रातिको समयमा यात्रा गर्नेलाई प्रयाप्त प्रकाश दिनेछ । साथै, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन फिचर पनि थप भएको छ ।
एक्सपल्स २०० मा दिएको अगाडि २१ र पछाडि १८ इन्चको रिम ह्वीललाई फोर भीमा पनि निरन्तरता दिएको छ । कम्पनीले सस्पेन्सनमा पनि परिवर्तन गरेको छैन । अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध रहेको छ । साथै, मोटरसाइकलमा अगाडि २७६ एमएम र पछाडि २२० एमएम डिस्क ब्रेकलाई निरन्तरता दिइएको छ ।
एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५० हजार रुपैयाँ रहेको छ ।


