काठमाडौं । अहिले बजारमा उपलब्ध २०० सीसीको सबैभन्दा कम मूल्यमा किन्न पाइने मोटरसाइकल हिरो एक्स्ट्रीम २०० आर हो । नेपाल जनरल मार्केटिङ प्रालिले विक्री गर्दै आएको यो मोटरसाइकल अन्य प्रतिस्पर्धी मोडलभन्दा करिब १ लाख रुपैयाँ सस्तो रहेको छ ।
हिरो मोटोकर्पको उत्पादन एक्स्ट्रीम २०० आर विभिन्न तीन कलर भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको छ । यसको मूल्य २ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ । यसलाई ग्राहकले कालो सहितको स्पोर्ट रेड, कालो सहितको फोर्स सिल्भर तथा कालो सहितको टेक्नो व्ल्यू कलरमा छनोट गर्न पाउने छन् ।
कम्पनीले यसमा १९९.६ सीसी क्षमताको एयर कुल्ड, टु भल्भ सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा १८.४ पीएस पावर र ६५०० आरपीएममा १७.१ एनएम टर्क प्रदान गर्छ । यसमा मल्टी प्लेट वेट क्लच र ५ स्पीड गियरबक्स दिइएको छ ।

एक्सट्रीम २०० आरको लम्बाई २०६२ एमएम, चौडाई ७७८ एमएम र उचाई १०७२ एमएम रहेको छ । यसमा ७९५ एमएमको सिट हाइट पाउन सकिन्छ । १३३८ एमएमको ह्वील वेसले मोटरसाइकललाई निकै स्टेवल बनाएको छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
डायमण्ड टाइप फ्रेममा निर्माण भएको एक्स्ट्रीम २०० आरको अगाडि टेलिस्कोपिक हाइड्रोलिक र पछाडि ७ स्टेपको मोनोशक सस्पेन्सन पाउन सकिन्छ । सुरक्षाको लागि मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएस दिइएको छ ।

