काठमाडौं । विश्वमै सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर उत्पादक हिरोले अमेरिकी प्रिमियम इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनीसँग सहकार्य गर्ने घोषणा गरेको छ ।
हिरो मोटोकर्पले अमेरिकी कम्पनी जिरोसँगको सहकार्यमा प्रिमियम इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने सम्झौता गरेको हो ।
कम्पनीले हिरो ब्राण्डमा दुईपांग्रे उत्पादन गर्न नपाउने भएका कारण यसअघि नै भिडा ब्राण्डमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गरिसकेको छ भने अमेरिकी कम्पनी जिरोसँगको सहकार्यमा इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्ने भएको हो ।
अमेरिकी ब्राण्ड जिरोले अन्तर्राष्ट्रिय बजारमा आफ्नो इलेक्ट्रीक मोटरसाइकल अन्तर्गत रोडस्टार्स टुरर र एड्भेन्चर सेग्मेन्टका मोटरसाइकल निर्माण गरी विक्री वितरण गरिरहेको छ ।
हालै यी दुई कम्पनीले इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार जिरोको टेक्नोलोजी र विशेषज्ञता प्रदान गर्नेछ । त्यसैगरी, हिरो मोटोकर्पले भने मोटरसाइकल निर्माण, सोर्सिङ र मार्केटिङको जिम्मेवारी लिएको छ ।
जिरोसँगको साझेदारीको लागि हिरो मोटोकर्पको बोर्डमार्फत सेप्टेम्बर २०२२ मा जिरो मोटरसाइकलसँगको सम्झौताका लागि ४९१ करोड भारतीय रुपैयाँ लगानी गर्ने योजना पास गरेको थियो ।

