मासिक २६ हजार किस्तामा सुजुकीको ‘फेमिली‘ कार

काठमाडौं । मारुती सुजुकी सेलेरियो अहिले नेपालमा विक्री भइरहेको सबैभन्दा कम मूल्यको ‘फेमिली‘ कार हो । सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले अघिल्लो वर्ष नेपालमा विक्री सुरु गरेको सेलेरियो आयात प्रतिबन्धको मारमा परेको मोडल हो ।

नेपाल आएसँगै यसको विक्री सुरु भएपनि आयात प्रतिबन्ध र बैंकले कर्जा नदिदा धेरैले यसलाई किन्न चाहेर पनि पाएका थिएनन् । सेलेरियो भिएक्सआई मोडल इन्ट्री लेभल मोडल हो । यसको मूल्य २७ लाख ९९ हजार तोकेर विक्री हुँदै आएको छ ।

बैंक तथा वित्तिय संस्थाले ब्यक्तिलाई गाडी किन्न मूल्यको ५० प्रतिशत मात्रै कर्जा उपलब्ध गराउने भएको कारण यसलाई किन्न चाहने ग्राहकले सुरुमा १३ लाख ९९ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट वापत तिर्नु पर्छ । साथै, त्यति नै रकम कर्जा सुविधा लिन पाउने छन् ।

अहिले औषत बैंक ब्याजदर १४ प्रतिशत हाराहारी रहेको र ७ वर्षसम्म नियमित किस्ता तिर्नु पर्ने भएको कारण सेलेरियो भिएक्सआई किन्ने ग्राहकले मासिक २६ हजार २२६ रुपैयाँ हाराहारी किस्ता तिर्नु पर्ने हुन्छ ।

मासिक किस्ताको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यदि तपाई त्योभन्दा धेरै मासिक किस्ता तिर्न सक्नु हुन्छ भने सेलेरियोको जेडएक्सआई भेरियन्ट वा जेडएक्सआई प्लस भेरियन्ट मध्ये कुनै एक खरिद गर्न सक्नु हुन्छ । जेडएक्सआईको मूल्य २९ लाख ९९ हजार र जेडएक्सआई प्लसको ३१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

आकर्षक लुक्समा तयार भएको नयाँ जेनेरेशन सेलेरियो उच्च माइलेज दिने ह्याचव्याक भएको छ । कम्पनीले यसमा १.० लिटर ड्यूलजेट इन्जिन दिएको छ । आइडियल स्टार्टरस्टप सिस्टम सहित आएकोले यो इन्जिनले २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज दिने कम्पनीको दावी छ ।

यसमा दिइएको इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ । यसअघिको सेलेरियोको तुलनामा नयाँ इन्जिनले २ हर्स पावर र एक एनएम टर्क कम उत्पादन गर्छ । यसलाई कम्पनीले म्यानुयल र एएमटी गियरबक्समा ल्याएको छ । तर, नेपालमा अटोमेटीक भेरियन्ट आउने वा नआउने भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

लम्बाई र उचाई पहिलेको मोडल जस्तै समान ३६९५ एमएम र १५५५ एमएम रहेको नयाँ सेलेरियोको चौडाई भने ५५ एमएम बढी रहेको छ । यसको चौडाई १६५५ एमएम छ । ह्वीलवेस १० एमएम र ग्राउन्ड क्लियरेन्स ५ एमएमले बढेको छ । यसमा २४३५ एमएमको ह्वीलवेस र १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

पहिलो पटक सेलेरियोमा इन्फोटेन्टमेन्ट सिस्टम, अलोय ह्वील जस्ता फिचर थप भएका छन् भने, क्यावीन पहिलेको भन्दा प्रिमियम पाउन सकिन्छ ।


Back_to_top